महसुल तिर्ने सहमतिपछि उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु



काठमाडौं,  कात्तिक २७। नेपाल विद्युत् प्राधिकरणले २८ किस्तामा बक्यौता महसुल  तिर्ने सहमति भएपछि देशभरका उद्योग प्रतिष्ठानमा विद्युत् आपूर्ति पुनः सुचारु गरेको छ।

डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गर्दै प्रिमियम महसुल नतिरेका उद्योगहरुले किस्ताबन्दी सुरु गरेपछि प्राधिकरणले काटिएका लाइन पुनः जडान गरेको हो।



प्राधिकरणका अनुसार निर्धारण गरिएको २८ किस्तामध्ये पहिलो किस्ता तिरेका उद्योगमा मात्र आपूर्ति पुनः सुरु गरिएको छ।

यसअघि बक्यौता नतिरेको कारण देशभरका २५ वटा उद्योगको लाइन काटिएको थियो। तीमध्ये एभरेस्ट पेपर मिल्स र बुटवल सिमेन्ट उद्योगले अझै भुक्तानी नगरेका कारण बन्द नै रहेका छन्।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले भने, “प्रिमियम बक्यौता मात्रै कारण भएर कुनै उद्योगको लाइन काटिएको छैन। सबैसँग किस्ताबन्दी सहमति गरिएको छ।”

प्राधिकरणले असोज १२ गते २१ दिनको पूर्वसूचना जारी गर्दै बक्यौता रकम २८ किस्तामा तिर्ने सुविधा दिएको थियो।

किस्ताबन्दी अन्तर्गत १४ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेको हुलास स्टिलले पहिलो किस्ताबापत ५० लाख ४३ हजार रुपैयाँ बुझाएको छ भने सिमराको अशोक स्टिल्सले ६३ लाख रुपैयाँ तिरेको छ।

प्रकाशित मिति: २०८२ कार्तिक २७, बिहीबार ०८:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको