‘काउन्टर प्रस्ताव’ बोकेर ईश्वर पोखरेल पुगे एमाले पार्टी कार्यालय



काठमाडौं ,मंसिर २२ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पार्टीको ११औँ महाधिवेशन लक्षित गरेर तयार पारेको राजनीतिक प्रस्ताव लिएर सोमबार पार्टी कार्यालय पुगेका छन्। उनले आफ्नो प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न चाहेका हुन्।

तर, अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ कि आज पार्टी कार्यालयमा ओलीको कुनै तालिका छैन। यसबीच, एमाले अध्यक्षले महाधिवेशनमा आफ्नै प्रस्ताव बाहेक अन्य प्रस्तावमा छलफल नहुने स्पष्ट गरिसकेका छन्।



पोखरेलले ‘काउन्टर प्रस्ताव’को रूपमा तयार पारेको यो दस्तावेजले महाधिवेशनका विषयमा फरक मत र नयाँ सुझाव समेटेको बताइएको छ। उनी प्रस्तावलाई पार्टी कार्यालयमा बुझाएर महाधिवेशन अघि छलफलको अवसर खोज्दै छन्।

एमालेको ११औँ महाधिवेशन मंसिर २७ गतेदेखि राजधानीमा सुरु हुँदैछ। महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र अन्य पदाधिकारीको निर्वाचन साथै पार्टीको नीति तथा कार्यक्रम, विधान संशोधन लगायतका महत्वपूर्ण एजेन्डाहरू प्रस्तुत हुने छन्।

पार्टीभित्र विभिन्न गुटबीच नेतृत्त्व र नीति–प्रस्तावलाई लिएर द्वन्द्व भइरहँदा, पोखरेलको यो कदम महाधिवेशन अघि सत्ता र नीति सम्बन्धी बहसलाई तातो बनाउने अनुमान गरिएको छ। उनका समर्थकहरूले यस कदमलाई लोकतान्त्रिक बहस र नीति सम्वर्द्धनको पक्षमा देखिरहेका छन्।

एमाले अध्यक्ष ओली र उपाध्यक्ष पोखरेलबीचको सम्बन्ध पार्टीभित्रको रणनीति र नेतृत्व परिवर्तनका दृष्टिले महत्त्वपूर्ण मानिन्छ। महाधिवेशनको सुरुवातसम्म यी प्रस्ताव र छलफलले पार्टीको भविष्य र आगामी राजनीतिक समीकरणमा असर पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २२, सोमबार १५:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको