कांग्रेस–एमाले बराबरी सिट बाँडेर सहकार्य गर्न सक्छन् : रामबहादुर थापा बादल



काठमाडौं, पुस  १५  । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न सक्ने बताएका छन्।

मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले मुलुक अहिले गम्भीर संकटमा फसेको उल्लेख गर्दै, त्यसको समाधानका लागि दुवै पार्टीले मोर्चाबन्दी गरेर अघि बढ्नुपर्ने बताए। उनले फागुन २१ मा निर्वाचन वा संसद पुनःस्थापना मार्फत लोकतन्त्र पुनःस्थापित गर्नुपर्ने तर्क गरे।

उपाध्यक्ष थापाले भने, “कांग्रेस र एमालेको संयुक्त आन्दोलनबाट हामी लोकतन्त्रको पुनःस्थापना गर्न सक्छौँ। यस रणनीति र बाटोबाट अघि बढे लोकतन्त्र पुनःस्थापित हुनेछ।” उनले सहकार्य र मोर्चाबन्दीले देशको राष्ट्रिय स्वाधिनता र अस्तित्वलाई सुरक्षित राख्न सक्ने विश्वास व्यक्त गरे।

थापाले अबको लोकतन्त्रलाई पुनर्स्थापित गर्ने रणनीति र कार्यनीतिहरू सुविचारित ढंगले तय गर्न दुवै दलले तत्काल कदम चाल्न आवश्यक रहेको बताए। उनले प्रतिगमनकारीहरूलाई परास्त गर्न नयाँ संसद स्थापना वा निर्वाचनमार्फत लोकतन्त्रवादी शक्तिहरूको वर्चस्व कायम गर्नुपर्नेमा जोड दिए।

उनले आगामी निर्वाचन फागुन २१ मा हुने निश्चित नहुने सम्भावनाको चर्चा गर्दै भने, “यदि निर्वाचन अनुकूल नभए नहुन सक्छ, तर लोकतन्त्रवादी शक्तिहरूलाई जिताउन दुवै दलले सहकार्य गर्नु आवश्यक छ।”

थापाले भदौ २३ र २४ गते देशमा प्रतिक्रान्ति भएको र त्यसपछि मुलुक संकटमा परेको स्मरण गराउँदै, यस संकटको समाधान कांग्रेस–एमालेको साझा प्रयासबाट मात्र सम्भव हुने बताए।

प्रकाशित मिति: २०८२ पुष १५, मंगलवार १६:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको