काठमाडौं, पुस २६ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले भोलिदेखि सुरु हुने विशेष महाधिवेशनमा कुल प्रतिनिधिमध्ये ६० प्रतिशतभन्दा बढीको सहभागिता रहने दाबी गरेका छन्।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस नेता अजयबाबु शिवाकोटीले सुरुमा हस्ताक्षर नगरेका विभिन्न जिल्लाका प्रतिनिधिहरू पछिल्लो समय विशेष महाधिवेशनको पक्षमा खुलेको जानकारी दिए। उनका अनुसार तनहुँ, झापा, धनुषा, रुपन्देही, मनाङलगायत जिल्लाबाट उल्लेख्य संख्यामा प्रतिनिधिहरू विशेष महाधिवेशनमा सहभागी हुने तयारीमा रहेका छन्।
शिवाकोटीले विशेष महाधिवेशनको उद्घाटन कार्यक्रम ऐतिहासिक हुने दाबी गर्दै यसअघि ५४ देखि ५८ प्रतिशत प्रतिनिधिको हस्ताक्षर संकलन गरी विशेष महाधिवेशनको माग अघि बढाइएको स्मरण गराए। “भोलिसम्म पुग्दा यो संख्या अझै बढेर ६० प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी हुने विश्वास लिएका छौँ,” उनले भने।
उनका अनुसार विशेष महाधिवेशनको उद्घाटन समारोहका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई औपचारिक रूपमा आमन्त्रण गरिएको छ। दुवै नेताको उपस्थितिले पार्टीभित्र संवाद र सहकार्यको सन्देश जाने उनको भनाइ छ।

पक्षधरहरूले विशेष महाधिवेशन पार्टी फुटाउन होइन, पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउने उद्देश्यले आयोजना गरिएको स्पष्ट पारेका छन्। महाधिवेशनमार्फत संगठनात्मक समस्या, नीति–कार्यक्रम र आगामी राजनीतिक रणनीतिबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।
विशेष महाधिवेशनलाई लिएर कांग्रेसभित्र बहस तीव्र भइरहेका बेला पक्षधरको यो दाबीले भोलिको कार्यक्रमप्रति थप चासो बढाएको छ।







