ललितपुर, पुस २८ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले स्वदेशमै विकास गरिएको ‘मुनाल’ नामक उपग्रह आज प्रक्षेपण गर्ने तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रहलाई नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ ।
नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा करिब दुई वर्षको निरन्तर मेहनतपछि तयार गरिएको ‘मुनाल’ उपग्रह वनस्पति अनुगमन, स्वदेशी प्रविधिको परीक्षण तथा कृत्रिम बौद्धिकतामा आधारित डाटा प्रशोधनका लागि प्रयोग गरिनेछ । यस उपग्रहमार्फत पृथ्वीको सतहसम्बन्धी तथ्यांक संकलन र विश्लेषणमा नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ ।
उपग्रहको सञ्चालन ललितपुरको खुमलटारस्थित ग्राउन्ड स्टेसनबाट गरिनेछ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सचिव डा। रविन्द्रप्रसाद ढकालका अनुसार ‘मुनाल’ उपग्रह आज बिहान भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ९आईएसआरओ० को ‘एसएलभी–सिक्स टू’ रकेटमार्फत ‘राइडसेयर पेलोड’ का रूपमा प्रक्षेपण गरिनेछ । भारतीय समयअनुसार बिहान १० बजेर १७ मिनेटमा तथा नेपाल समयअनुसार १० बजेर ३२ मिनेटमा उपग्रह प्रक्षेपण हुने जानकारी उनले दिए ।
प्रक्षेपण भारतको आन्ध्र प्रदेशस्थित श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिनेछ । विद्यार्थीको सक्रिय सहभागिता र नेतृत्वमा विकसित उपग्रह अन्तरिक्षमा पठाइनु नेपालका लागि प्रेरणादायी कदम भएको नास्टले जनाएको छ ।
‘मुनाल’ उपग्रहले नेपालको विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा विद्यार्थीस्तरमै अनुसन्धान र प्रयोग सम्भव छ भन्ने सन्देश दिएको छ । यस परियोजनाले भविष्यमा स्वदेशी अन्तरिक्ष प्रविधि विकास, अनुसन्धान विस्तार तथा युवा पुस्तालाई विज्ञानतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।






