काठमाडौँ , माघ ४ । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ताको समय केही दिन थप गर्ने तयारी गरिरहेको छ। आयोग स्रोतका अनुसार कार्यतालिका सारिने छैन, तर दलहरूको आग्रहका आधारमा मनोनयन दर्ताको समय बढाउन सकिन्छ।
निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते दलहरूले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्नुपर्ने व्यवस्था छ। तर स्रोतका अनुसार सम्भवतस् माघ ८ गतेसम्म मनोनयन दर्ता गर्न समय थप हुनसक्ने देखिन्छ।
यो तयारी नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको आग्रहसँग सम्बन्धित छ। देउवा पक्षले निर्वाचन आयोगमा पुगेर मनोनयन दर्ता स्थगन वा समय थप गर्न अनुरोध गरेको थियो। यसअघि उनीहरूले सर्वोच्च अदालतमा पनि रिट दायर गरी मनोनयन दर्ता रोक्न, विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई भंग गर्न र नयाँ मनोनयन मिति तोक्न परमादेश माग गरेका थिए।
निर्वाचन आयोगले यसअघि विशेष महाधिवेशनबाट आएको नयाँ कार्यसमितिलाई मान्यता दिएको थियो। देउवा समूहले यसलाई असंवैधानिक, गैरकानुनी र बदनीयतपूर्ण निर्णय भएको दाबी गर्दै रिटमार्फत आयोगका कार्यवाहीलाइ रोक्न खोजेको छ।

सेतोपाटीसँग कुरा गर्दै निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, “सर्वोच्च अदालतले निर्णय नगरेसम्म निर्वाचन सम्बन्धी आयोगका कामकारबाही स्थगन गर्न रिट निवेदनको प्रतिलिपि आयोगलाई जानकारी गराइएको छ।”
राजनीतिक विश्लेषकहरूले देउवा समूहको मागका कारण आयोगले मनोनयन दर्ताको समय थप्ने सम्भावना रहेको टिप्पणी गरेका छन्। आगामी निर्णयले प्रतिनिधि सभा निर्वाचनको तयारी र दलबीचको रणनीतिमा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ।







