एन्फाको निर्वाचन रोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश



काठमाडौँ, माघ ४ । अखिल नेपाल फुटबल संघ (एन्फा) को तय गरिएको निर्वाचन प्रक्रिया तत्काल रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ। आइतबार अदालतले एन्फाको निर्वाचन तथा त्यससँग सम्बन्धित सम्पूर्ण गतिविधि अर्को आदेश नभएसम्म स्थगित गर्न निर्देशन दिएको हो।

एन्फाका उपाध्यक्ष विराटजंग शाहीसहित सदस्यद्वय रुपेश अधिकारी र रविन्द्र चन्दले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश जारी गरेको हो। निवेदकहरूले एन्फाको निर्वाचन प्रक्रिया नियम, विधान तथा कानुनविपरीत अघि बढाइएको दाबी गरेका छन्।



उच्च अदालत पाटनकी न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले प्रस्तुत रिटको अन्तिम टुंगो नलागेसम्म निर्वाचन प्रक्रियालाई यथास्थितिमा राख्न आदेश दिएको हो। अदालतको आदेशसँगै एन्फाले अगाडि बढाउँदै आएको निर्वाचन तालिका तत्कालका लागि स्थगित भएको छ।

रिट निवेदनमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप), अखिल नेपाल फुटबल संघ, एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई तथा एन्फा निर्वाचन समितिलाई विपक्षी बनाइएको छ।

निवेदक पक्षले एन्फाको निर्वाचन समितिको गठन, मतदाता सूची, उम्मेदवारी प्रक्रिया तथा निर्वाचन सञ्चालनको वैधानिकतामाथि प्रश्न उठाउँदै अदालतको शरण लिएको बताइएको छ। उनीहरूको मागअनुसार निष्पक्ष, पारदर्शी र विधानअनुसारको निर्वाचन सुनिश्चित नभएसम्म निर्वाचन प्रक्रिया रोक्नुपर्ने तर्क गरिएको छ।

अदालतको यस आदेशपछि नेपाली फुटबलको नेतृत्व चयन प्रक्रिया अनिश्चित बनेको छ। निर्वाचन स्थगनसँगै एन्फाको आगामी कार्यदिशा, अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी र संस्थागत निर्णय प्रक्रियामा समेत असर पर्ने देखिएको छ।

अब अदालतले विपक्षी पक्षलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ। सो पश्चात् थप सुनुवाइमार्फत रिटको अन्तिम फैसला हुने अपेक्षा गरिएको छ। नेपाली फुटबल जगतले उच्च अदालतको आगामी निर्णयलाई चासोका साथ हेरिरहेको छ।

प्रकाशित मिति: २०८२ माघ ४, आईतवार १७:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको