रौतहट, फागुन ९ । रौतहटको गौरमा भड्किएको दुई समुदायबीचको झडप घटनाका योजनाकार रहेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति जनमत पार्टी का जिल्ला संयोजक शेख जमशेद रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गौर नगरपालिका–६ सवगढाबाट सुरु भएको विवादमा उनको संलग्नता रहेको आशंकामा घरबाटै नियन्त्रणमा लिइएको हो। उनी सोही वडाका पूर्व अध्यक्षसमेत रहेका छन्। पक्राउपछि उनलाई जिल्ला प्रशासन कार्यालयमा लगिएको प्रहरीले जनाएको छ।
गत बिहीबार साँझ मस्जिद जाने बाटो हुँदै जन्ती बोकेको गाडी गुज्रिएपछि दुई समुदायबीच विवाद सुरु भएको थियो। उक्त विवादले पछि हिंसात्मक रूप लिएको थियो। शुक्रबार दिनभर झडप भएपछि प्रशासनको पहलमा दुवै पक्षबीच ६ बुँदे सहमति भएको थियो।
तर शनिबार बिहानदेखि पुनः सवगढा क्षेत्रमा झडप भएको बताइएको छ। स्थिति तनावपूर्ण बनेपछि प्रशासनले रौतहटका विभिन्न क्षेत्रमा कर्फ्यु लगाएको छ।

प्रहरी स्रोतका अनुसार सवगढा घटनामा शेख जमशेदको संलग्नताका केही प्रमाणसमेत फेला परेको दाबी गरिएको छ। यद्यपि प्रशासनले यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन।
झडपका क्रममा हालसम्म १० जना सामान्य घाइते भएका छन् भने २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै ७ वटा मोटरसाइकल र १ थान जीप आगजनीका कारण नष्ट भएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसाल ले जानकारी दिएका छन्।
स्थिति नियन्त्रणमा लिन प्रहरीले ५० भन्दा बढी अश्रुग्यास प्रहार गर्नुका साथै दर्जनौं राउन्ड हवाइ फायरसमेत गरेको जनाएको छ।







