रौतहट, फागुन १० । रौतहटको गौरमा बिग्रिएको सुरक्षा अवस्था नियन्त्रणमा लिन प्रशासनले सेना परिचालन गर्दै आज पनि कर्फ्युलाई निरन्तरता दिएको छ ।
फागुन ७ गतेदेखि सुरु भएको तनावका कारण स्थिति नियन्त्रण बाहिर जान थालेपछि यस्तो कदम चालिएको हो।
गौरमा दुई समुदायबीच भएको सामान्य भनाभन केही दिनमै उग्र साम्प्रदायिक झडपमा परिणत भएपछि तोडफोड, आगजनी तथा ढुंगा हानाहानका घटना बढेका थिए। त्यसपछि प्रशासनले कर्फ्यु लागू गरेको थियो।
आइतबार बिहान भने कर्फ्यु केही समयका लागि खुकुलो पारिएको थियो । कर्फ्यु खुकुलो हुँदा सर्वसाधारण दैनिक उपभोग्य वस्तु खरिदका लागि छिटफुट रूपमा घर बाहिर निस्किएको देखिएको छ। तर बिहान ८ः३० बजेदेखि पुनः कर्फ्यु कडाइका साथ लागू गरिएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म २० जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा शेख जमशेद सहित अन्य व्यक्तिहरू रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।







