मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिन ध्रुवकुण्ड पुग्दै



जनकपुरधाम, फागुन १० । १५ दिने मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत यात्रुहरू आज सातौँ दिन बलवा नगरपालिका–९ स्थित ध्रुवकुण्ड पुग्दैछन्। फागुन औँसीदेखि सुरु भएको परिक्रमा अहिले निरन्तर अघि बढिरहेको छ। बिहीबार यात्राको क्रममा यात्रुहरू मटिहानीबाट महोत्तरी प्रवेश गरेका थिए। त्यसपछि मटिहानी, जलेश्वर र मडैमा रात्रिबास सम्पन्न गरी आज ध्रुवकुण्डतर्फ प्रस्थान गरेका हुन्।

हाल ध्रुवकुण्डदेखि मडैसम्म यात्रुहरूको लामो पङ्क्ति देखिएको छ। आयोजकका अनुसार आज मध्याह्नअघि नै अधिकांश यात्रु ध्रुवकुण्ड पुग्ने अपेक्षा गरिएको छ।



धार्मिक विश्वासअनुसार सत्ययुगमा राजा उत्तानापादका पुत्र राजकुमार ध्रुवले यस स्थानमा कठोर तपस्या गरेका थिए। हिन्दू धर्मग्रन्थहरूमा ध्रुवलाई भगवान् विष्णुको २४ अवतारमध्ये एक मानिने भएकाले ध्रुवकुण्ड धार्मिक आस्थाको महत्वपूर्ण केन्द्रका रूपमा परिचित छ। परिक्रमा यात्रामा सहभागी भक्तजनसँगै मिथिलाविहारी श्रीराम र श्री किशोरीजी (सीता) का प्रतिमा राखिएका डोली विश्रामस्थलमा आइपुग्दा दर्शनका लागि श्रद्धालुहरू ठूलो सङ्ख्यामा भेला हुने गरेका छन्। प्रत्येक विश्रामस्थलमा भजनकीर्तन तथा धार्मिक मेला लाग्ने परम्परा रहँदै आएको छ।

ध्रुवकुण्डमा आजको रात्रिबासपछि यात्रुहरू भोलि आठौँ दिन कञ्चनवनतर्फ प्रस्थान गर्नेछन्। कञ्चनवन महोत्तरी जिल्लामा पर्ने परिक्रमा यात्राको अन्तिम विश्रामस्थल हो। त्यसपछि नवौँ दिन यात्रुहरू धनुषा जिल्ला तर्फ अघि बढ्नेछन्।

प्राचीन मिथिलाको राजधानी मानिने जनकपुर लाई केन्द्र मानेर करिब १३३ किलोमिटर परिधिमा यो परिक्रमा गरिन्छ। यात्राका १५ रात्रि विश्रामस्थलमध्ये महोत्तरी जिल्ला मा पाँच, धनुषामा छ र भारतको मधुबनी जिल्ला मा चार वटा विश्रामस्थल रहेका छन्।

पूर्णिमासम्म सञ्चालन हुने यस धार्मिक यात्राको मुख्य उद्देश्य मानव कल्याण र धार्मिक आस्थाको प्रवर्द्धन रहेको बताइएको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन १०, आईतवार ०८:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको