एजेन्सी, चैत ३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने दाबी गरेका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले युद्ध धेरै समय नलागी समाप्त हुने संकेत दिएका हुन्।
पत्रकारहरूले “के यो हप्तामै युद्ध समाप्त हुन सक्छरु” भन्ने प्रश्न सोध्दा ट्रम्पले “हो, बिल्कुल” भन्दै प्रतिक्रिया दिएका थिए। तर अर्को प्रश्नमा भने उनले युद्ध यही हप्तामै टुंगिनेबारे निश्चित नरहेको बताए। “मलाई त्यस्तो लाग्दैन, तर यो चाँडै समाप्त हुनेछ, धेरै समय लाग्दैन,” उनले भने।
ट्रम्पले इरानको मिसाइल आपूर्ति ठूलो मात्रामा नष्ट भइसकेको र युद्ध सुरु हुनु अघिको तुलनामा अहिले इरान निकै कमजोर भएको दाबी पनि गरे।
यसका साथै उनले नेटोका केही सदस्य राष्ट्र र बेलायतको आलोचना गर्दै युद्धको समयमा अमेरिकालाई सहयोग गर्न हिचकिचाइरहेको आरोप लगाए।
तर केही देशहरूले भने होर्मुज स्ट्रेटको सुरक्षासम्बन्धी अमेरिकी योजनामा सहयोग गरिरहेको पनि उनले बताएका छन्। यद्यपि ती देशहरूको नाम उनले खुलाएका छैनन्। ट्रम्पका अनुसार दक्षिण कोरिया र चिन जस्ता राष्ट्रहरूले पनि सहयोग गर्नुपर्ने आवश्यकता रहेको छ।






