काठमाडौं, चैत ४ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी सञ्चालन अब सीमित व्यक्तिको निर्णय र बन्द कोठाको योजनाबाट नभई आम कार्यकर्ताको भावना र आधुनिक कार्यशैलीअनुसार हुनुपर्ने बताएका छन्।
मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत नेतृत्वप्रति लक्षित गर्दै पाण्डेले पार्टीभित्र सुधारका आवाजलाई बेवास्ता गरिएको गुनासो गरेका हुन्।
उनले पार्टीका आधिकारिक बैठक र फोरमहरूमा पटक–पटक सुधारका ठोस प्रस्ताव र कमजोरीहरू औंल्याए पनि ती विषयलाई गम्भीर रूपमा छलफल नगरी ‘नोट अफ डिसेन्ट’मा सीमित गरिएको उल्लेख गरेका छन्।
पाण्डेले बैठकहरू सुधार र विचार आदानप्रदान गर्ने थलो हुनुपर्नेमा त्यसको विपरीत केवल निर्देशन दिने औपचारिकतामा सीमित हुँदा समस्या उत्पन्न भएको बताए।
उनका अनुसार यस्तो प्रवृत्तिले पार्टीभित्र विवेक कमजोर बनाउँदै अहंकार बढाउने खतरा रहेको छ।
“जब बैठक सुन्ने र सुध्रिने थलो नभई केवल सुनाउने र ‘हुकुम’ दिने माध्यम बन्छ, तब त्यहाँ विवेकको मृत्यु हुन्छ र अहंकारले स्थान पाउँछ,” पाण्डेले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
उनले पार्टीभित्र उठाइएका विषयहरूलाई गम्भीरतापूर्वक सुन्ने र सुधारतर्फ अघि बढ्ने संस्कृतिको विकास आवश्यक रहेकोमा जोड दिएका छन्।






