चन्द्रमाको माटोमा भेटिएला एलियन सभ्यताको संकेत ?



एजेन्सी, भदौ २२। पृथ्वीबाहेक अन्य ग्रह वा आकाशीय पिण्डमा विकसित प्राविधिक सभ्यताको अस्तित्व थियो कि थिएन भन्ने प्रश्नको उत्तर वैज्ञानिकहरूले अब चन्द्रमाको माटोमा पनि खोज्ने सम्भावना अध्ययन गर्न थालेका छन्।

सर्च फर एक्स्ट्राटेरेस्ट्रियल इन्टेलिजेन्स (एसइटीआइ) सँग आबद्ध अनुसन्धानकर्ताहरूले कुनै उन्नत बाह्य सभ्यताबाट निस्किएका प्राविधिक अवशेषका सूक्ष्म कण लामो समयपछि अन्तरिक्ष हुँदै चन्द्रमाको सतहसम्म आइपुगेको हुनसक्ने सम्भावनाबारे अध्ययन गरेका छन्।

क्यालिफोर्नियाको माउन्टेन भ्युस्थित (एसइटीआइ) इन्स्टिच्युटका एफिलिएट वैज्ञानिक तथा युनिभर्सिटी अफ लन्डनको बर्कबेक कलेजका शोधकर्ता लुइस पिनाल्टको नेतृत्वमा यो अध्ययन गरिएको हो। अध्ययनलाई इन्टरनेशनल जर्नल अफ अस्ट्रोबाइलोजी मा सहकर्मी समीक्षाका लागि पठाइएको बताइएको छ।

कसरी पुग्न सक्छ एलियनको प्राविधिक मलबा ?

अनुसन्धानकर्ताहरूले तयार पारेको मोडलअनुसार कुनै अत्यन्त विकसित सभ्यताको पूर्वाधार समयसँगै क्षय भएर निकै साना कणमा परिणत हुन सक्छ। यस्ता कण अन्तरिक्षमा फैलिँदै अन्य तारकीय प्रणाली हुँदै हाम्रो सौर्यमण्डलसम्म आइपुग्न सक्ने वैज्ञानिकहरूको अनुमान छ।

त्यस्ता सूक्ष्म कण चन्द्रमाको सतहमा जम्मा भएको हुनसक्ने सम्भावना पनि अध्ययनमा औंल्याइएको छ। वैज्ञानिकहरूले यस्ता काल्पनिक कणलाई दुई फरक नाम दिएका छन्।

माइक्रोन आकारका प्राविधिक अवशेषलाई युक्रेनी अनुसन्धानकर्ता एलेक्सी वी। आर्किपोभको सम्मानमा ‘आर्किपोभ पार्टिकल्स’ भनिएको छ। त्यस्तै, कुनै बाह्य सभ्यताले निगरानी वा अन्य उद्देश्यका लागि पठाएका सूक्ष्म स्वायत्त मेसिनलाई भौतिकशास्त्री रोनाल्ड ब्रेसवेलको नामबाट ‘ब्रेसवेल पार्टिकल्स’ भनिएको छ।

चन्द्रमाको माटो परीक्षण गर्ने योजना

चन्द्रमामा बाह्य सभ्यताको अवशेष खोज्ने अवधारणा भने नयाँ होइन। आर्किपोभले सन् १९९० को दशकमा नै चन्द्रमाको सतह एलियन आर्टिफ्याक्ट सुरक्षित रहने सम्भावित स्थान हुनसक्ने धारणा अघि सारेका थिए।

नयाँ अध्ययनले भने यही अवधारणालाई अझ सूक्ष्म, माइक्रोन आकारका प्राविधिक कणमा केन्द्रित गरेको छ।

वैज्ञानिकहरूका अनुसार भविष्यमा हुने कुनै चन्द्र अभियानका क्रममा करिब एक घनमिटर चन्द्रमाको माटोको विस्तृत परीक्षण गर्न सकिन्छ। विशेष उपकरणको प्रयोग गरी प्राकृतिक पदार्थभन्दा फरक र कृत्रिम प्रकृतिका कणहरू पहिचान गर्ने प्रयास गर्न सकिनेछ।

चुनौती पनि उत्तिकै ठूलो

तर चन्द्रमाको माटोमा कृत्रिम कण भेटिँदैमा त्यसलाई एलियन सभ्यताको प्रमाण मान्न भने सजिलो हुने छैन। चन्द्रमामा मानवले पठाएका विभिन्न अन्तरिक्षयान तथा तिनका अवशेष पहिलेदेखि नै रहेका छन्।

त्यसैले कुनै असामान्य कण भेटिएमा त्यो पृथ्वीबाट पुगेको मानव निर्मित वस्तु होइन भन्ने प्रमाणित गर्नुपर्नेछ। यसका लागि उक्त कणको रासायनिक तथा भौतिक संरचनाको विस्तृत विश्लेषण आवश्यक पर्नेछ।

अनुसन्धानकर्ताहरूले यस्तो खोज सफल हुने सम्भावना हाल निकै कम रहेको बताएका छन्। तर चन्द्रमाको माटोबाट बाह्य सभ्यताको विश्वसनीय ‘टेक्नोसिग्नेचर’ भेटिएमा त्यो मानव इतिहासकै सबैभन्दा महत्वपूर्ण वैज्ञानिक खोजमध्ये एक बन्न सक्नेछ।

प्रकाशित मिति: २०८३ भाद्र २२, सोमबार ०८:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको