सिन्धुको पानी रोक्ने प्रयास ‘युद्धको कदम’ : पाकिस्तानी प्रधानमन्त्री शरीफ



एजेन्सी, असोज १० । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सिन्धु नदी प्रणालीअन्तर्गत पाकिस्तानको हिस्साको पानी रोक्ने, अवरोध गर्ने वा मोड्ने कुनै पनि प्रयासलाई ‘युद्धको कदम’ मानिने बताएका छन् ।

न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै शरीफले पानीलाई हतियारका रूपमा प्रयोग गर्न नहुने बताएका हुन् । उनले सिन्धु नदी प्रणालीको पानी पाकिस्तानका लागि मात्र नभई पूरै क्षेत्रका लागि महत्वपूर्ण रहेको उल्लेख गरे ।

भारतले सिन्धु जलसन्धिलाई एकतर्फी रूपमा स्थगनमा राखेको निर्णयको कानुनी आधार नभएको दाबी गर्दै शरीफले पाकिस्तानले उक्त सन्धिलाई अझै बाध्यकारी र कार्यान्वयनमा रहेको मान्ने बताए । उनले सन्धिसम्बन्धी भारतका दाबी तथा कदमहरूलाई लिएर अन्तर्राष्ट्रिय निकायमा पाकिस्तानले आफ्नो धारणा राख्दै आएको उल्लेख गरे ।

‘पानीलाई कहिल्यै हतियार बनाउनु हुँदैन । नदीहरूले राष्ट्रलाई समृद्ध बनाउनुपर्छ, विभाजन होइन,’ शरीफले भने । उनले पाकिस्तानको पानीको हिस्सामा हस्तक्षेप गर्ने प्रयास नगर्न भारतलाई चेतावनीसमेत दिएका छन् ।

संयुक्त राष्ट्रसंघमा कश्मीरको मुद्दा पनि उठाए

शरीफले आफ्नो सम्बोधनका क्रममा कश्मीर मुद्दा पनि उठाएका छन् । उनले कश्मीरी जनताको आत्मनिर्णयको अधिकारका लागि पाकिस्तानले कूटनीतिक, राजनीतिक र नैतिक समर्थन जारी राख्ने बताए ।

उनले कश्मीर विवादको न्यायपूर्ण समाधानका लागि संयुक्त राष्ट्रसंघको भूमिकामा जोड दिँदै दक्षिण एसियामा पुनः तनाव बढ्न नदिन संवाद र कूटनीतिलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । पाकिस्तानका सरकारी विवरणअनुसार शरीफले कश्मीरलाई पाकिस्तानको ‘जुगुलर भेन’ अर्थात् अत्यन्त महत्वपूर्ण अंगका रूपमा चित्रण गरेका छन् ।

शरीफले गाजा, अफगानिस्तानबाट उत्पन्न सुरक्षा चुनौती, जलवायु परिवर्तन तथा अन्तर्राष्ट्रिय व्यापारका महत्वपूर्ण जलमार्गको सुरक्षालगायतका विषय पनि आफ्नो सम्बोधनमा उठाएका थिए ।

प्रकाशित मिति: २०८३ आश्विन १०, शनिबार ०९:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको