युक्रेनले घोषणा गर्‍यो ‘आर्मी अफ रोबोट्स’, युद्धमा मेसिनको प्रयोग बढाउने योजना



एजेन्सी, असोज ११ । युक्रेनले युद्धमा मानवरहित प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले ‘आर्मी अफ रोबोट्स’ नामक नयाँ पहल घोषणा गरेको छ । पूर्वरक्षा मन्त्री मिखाइलो फेडोरोभले सेप्टेम्बर २६ मा लभिभमा आयोजित ‘आईटी एरेना २०२६’ कार्यक्रममा यो पहल सार्वजनिक गरेका हुन् ।

फेडोरोभका अनुसार ‘आर्मी अफ रोबोट्स’ कुनै एक कम्पनी नभई रक्षा प्रविधिको विकास, परीक्षण र प्रयोगलाई अघि बढाउने एउटा इकोसिस्टम हुनेछ । यसअन्तर्गत रक्षा प्रविधि कम्पनीमा लगानी, नयाँ प्रविधिको अनुसन्धान तथा विकास र सैन्य क्षेत्रसँग सहकार्य गरेर प्रविधिको परीक्षण गर्ने योजना छ ।

यस पहलको मुख्य उद्देश्य युद्ध क्षेत्रमा सैनिकको जोखिम घटाउन मानवरहित प्रणालीको प्रयोग बढाउनु रहेको फेडोरोभले बताएका छन् । उनका अनुसार रोबोटिक प्रणालीलाई घाइते सैनिकको उद्धार, सामग्री तथा गोलाबारुद ढुवानी, टोही, माइन व्यवस्थापन र अन्य जोखिमपूर्ण कार्यमा प्रयोग गर्ने योजना छ ।

फेडोरोभले यस परियोजनाअन्तर्गत मानवरूप ९ह्युमानोइड० रोबोटको विकासमा समेत जोड दिएका छन् । यस्ता रोबोटले युद्ध क्षेत्रमा सामान्य र दोहोरिने काम गर्न सक्ने अवधारणा प्रस्तुत गरिएको छ ।

युक्रेनले यसअघि सन् २०२२ मा ‘आर्मी अफ ड्रोन’ कार्यक्रम अघि बढाएको थियो । पछिल्लो समय युद्धमा मानवरहित जमिनमा चल्ने सवारी तथा रोबोटिक प्रणालीको प्रयोगसमेत बढ्दै गएको छ । तर हाल प्रयोग भइरहेका धेरैजसो जमिनमा चल्ने रोबोटहरू पूर्ण रूपमा स्वायत्त नभई मानव अपरेटरबाट सञ्चालन हुने गरेको द किभ इन्डिपेन्डेन्ट ले जनाएको छ ।

फेडोरोभले नयाँ पहलका लागि रोबोटिक्स क्षेत्रमा काम गर्ने कम्पनी, इन्जिनियर तथा प्रविधि विज्ञलाई जोडिन आह्वान गरेका छन् । युक्रेनले युद्धमा मानवरहित प्रविधिको प्रयोगलाई थप विस्तार गर्ने प्रयास गरिरहेको पछिल्लो घोषणाले देखाएको छ

प्रकाशित मिति: २०८३ आश्विन ११, आईतवार १२:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको