दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने आकलन



एजेन्सी, असोज १४ । इराकमा दुई दशकभन्दा लामो समयदेखि रहेको अमेरिकी अमेरिकी सेना फिर्ता भएको छ। सन् २००३ मा तत्कालीन राष्ट्रपति सद्दाम हुसेनको सरकार हटाउन गरिएको अमेरिकी आक्रमणपछि सुरु भएको सैन्य हस्तक्षेप अब अन्तिम चरणमा पुगेको हो।

अमेरिकी सेनाले इराकमा रहेका बाँकी सैन्य आधारहरू खाली गरेसँगै दुई दशक लामो सैन्य उपस्थितिको औपचारिक अन्त्य भएको बताइएको छ। यो निर्णय सन् २०२४ मा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकालमा भएको थियो। अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले त्यसलाई कार्यान्वयन गरेको हो।

सन् २००३ को इराक आक्रमणपछि अमेरिकी सेनाले लामो समयसम्म इराकमा सैन्य उपस्थिति कायम राखेको थियो। सन् २०११ को अन्त्यमा अमेरिकी सेना फिर्ता भए पनि इस्लामिक स्टेट ९आईएसआईएस० को प्रभाव बढेपछि सन् २०१४ देखि पुनः इराकमा अमेरिकी सेना परिचालित भएको थियो।

अमेरिकी सेनाको पूर्ण फिर्तीलाई इरान र उसका समर्थकहरूले आफ्नो रणनीतिक सफलताका रूपमा व्याख्या गरेका छन्। इरान लामो समयदेखि पश्चिम एसियाबाट अमेरिकी सैन्य प्रभाव घटाउन चाहँदै आएको छ।

इराकका इरान समर्थित समूहका केही नेताले अमेरिकी सेना फिर्तीलाई आफ्नो ‘प्रतिरोध’को उपलब्धि बताएका छन्। तर, केही सुरक्षा विश्लेषकले अमेरिकी सेना हटेपछि इरानविरुद्ध कायम रहेको सुरक्षा सन्तुलन कमजोर हुन सक्ने बताएका छन्। उनीहरूका अनुसार यसबाट इरान समर्थित सशस्त्र समूहको राजनीतिक तथा सुरक्षा क्षेत्रमा प्रभाव बढ्न सक्छ।

इराकले पछिल्ला दुई दशकमा अमेरिका र इरान दुवैसँग सम्बन्ध कायम राख्दै आएको छ। यही कारण इराक पटक–पटक दुई शक्तिबीचको तनावको केन्द्रसमेत बन्दै आएको थियो।

सन् २०२० मा बगदाद विमानस्थलमा अमेरिकी हवाई हमलामा इरानी सैन्य कमान्डर कासिम सुलेमानी मारिएका थिए। त्यसपछि इरान समर्थित समूहले इराकमा रहेका अमेरिकी सैन्य तथा कूटनीतिक प्रतिष्ठानलाई पटक–पटक निशाना बनाएका थिए।

अमेरिकी सेना पूर्ण रूपमा बाहिरिएपछि इराकको सुरक्षा व्यवस्थापन, इरानको क्षेत्रीय प्रभाव र आईएसआईएसजस्ता समूहको सम्भावित पुनःसक्रियताबारे नयाँ बहस सुरु भएको छ। सुरक्षा विश्लेषकहरूले आगामी दिनमा इराकले आफ्नो सुरक्षा क्षमता कति प्रभावकारी रूपमा व्यवस्थापन गर्छ भन्ने विषयलाई महत्वपूर्ण मानिरहेका छन्।

प्रकाशित मिति: २०८३ आश्विन १४, बुधबार १८:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको