ब्राउन सुगर सहित चार जना पक्राउ



मोरङ, असोज । मोरङ प्रहरीले छुट्टाछुट्टै दुई स्थानबाट ९ दशमलव ३७ ग्राम खैरो हेरोइन ( ब्राउन सुगर ) जस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१६ को दरैया चोकबाट दुई जनालाई पक्राउ गरेको हो।

भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका सुनसरीको धरान उपमहानगरपालिका–९ का ३३ वर्षीय नरेश खडगी र ३५ वर्षीय कृष्णा राईलाई प्रहरीले शङ्काका आधारमा जाँच गरेको थियो। जाँचका क्रममा कृष्णा राईको साथबाट ४ दशमलव ४७ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो।

त्यसैगरी, विराटनगर–१६ स्थित दक्षिण गेटबाट भारततर्फबाट नेपाल आउँदै गरेका मोरङको केराबारी गाउँपालिका–६ का २१ वर्षीय शुसान्त विक र २० वर्षीय निर्मल तामाङ पक्राउ परेका छन्।

जाँचका क्रममा शुसान्त विकको साथबाट ४ दशमलव ९० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

दुवै घटनामा पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार १५:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको