इनरुवा, असोज १९ । सुनसरीको इनरुवाबाट प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजासहित ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको छ।
इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चोकबाट प्रहरीले गाँजा बोकेको ना।७ ख १८२५ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो। ट्रकबाट २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
आइतबार राति करिब ११ः५० बजे अस्थायी प्रहरी पोस्ट सखुवागाछी र ट्राफिक प्रहरी कार्यालय इनरुवाको संयुक्त टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रकलाई शंकाका आधारमा रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा ट्रकमा बन्दागोभीले छोपेर लुकाइएको अवस्थामा ८३ बोरा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय ट्रक चालक राजु राई र सोही स्थानका १८ वर्षीय सहचालक सन्दीप राई रहेका छन्।
पक्राउ परेका दुवै जनालाई गाँजा र ट्रकसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो।






