रास्वपा अध्यक्ष लक्ष्मेश्वर यादवको अभिव्यक्तिप्रति धनुषा प्रहरीको आपत्ति



जनकपुरधाम, कात्तिक ११। राष्ट्रिय स्वतन्त्र पार्टी धनुषाका अध्यक्ष लक्ष्मेश्वर यादवले धनुषाका प्रहरी उपरीक्षक रुपेश खडकालाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति धनुषा प्रहरीले आपत्ति जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै यादवको अभिव्यक्तिलाई आपत्तिजनक, कपोलकल्पित, भ्रामक, अपमानजनक र सतही टिप्पणीको संज्ञा दिएको छ।

प्रहरीका अनुसार यादवले एक कार्यक्रममा भाषण गर्दै जिल्ला प्रहरी कार्यालयसहित विभिन्न सरकारी निकाय र प्रहरी संगठनबारे टिप्पणी गरेका थिए।

विज्ञप्तिमा यादवले आफ्नी पारिवारिक महिला सदस्य हराएको घटनासम्बन्धी निवेदन दिएको र त्यसबारे प्रहरीले बुझबुझारथ गरेको उल्लेख छ। प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतबाट विवाहको नाता कायम गरिसकेको अवस्थामा ती महिला आफ्ना पतिसँगै गएको खुल्न आएको थियो।

प्रहरीले सम्बन्धित पक्षसँग कुराकानी गरी विवाहका प्रमाणसमेत हेरेर वास्तविक अवस्थाबारे जानकारी गराइएको जनाएको छ। तर यादवले आफ्नो पदको दुरुपयोग गरी अनुचित दबाब दिएको र प्रहरीको प्रतिष्ठामा आँच पुर्‍याउने अभिव्यक्ति दिएको कार्यालयको आरोप छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी संगठनले व्यावसायिकता, इमानदारी र लगनशीलताका साथ नागरिकको सेवामा काम गरिरहेको जनाएको छ। विज्ञप्तिमा प्रहरीमाथि लगाइएका आरोप पुष्टि गर्न चुनौती दिँदै सामाजिक सञ्जालमा अपुष्ट तथा भ्रामक सामग्री साझा नगर्न आग्रह गरिएको छ।

प्रहरीले घटनासम्बन्धी तथ्यविपरीत सामग्री प्रसारण वा प्रकाशन नगर्न र प्रचलित कानुनबमोजिम अघि बढ्न सकिने जानकारीसमेत गराएको छ।

 

प्रकाशित मिति: २०८३ कार्तिक १०, मंगलवार ०९:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको