लुम्बिनी प्रदेशसभाका सभामुखसहित पाँच जनाविरुद्ध अदालत पुगिन अम्बिका



जनकपुरधाम, कात्तिक ११ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई पदमुक्त गर्न प्रयोग गरिएको पत्रमा कीर्ते तथा जालसाजी भएको आरोप लगाउँदै सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्।

काफ्लेले मंगलबार दायर गरेको फिरादपत्रमा प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगर, सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, जसपा नेपालका प्रदेशसभा सदस्य सन्तोष पाण्डे र अजयकुमार झालाई विपक्षी बनाएकी छन्।

काफ्लेका अनुसार पार्टीको आधिकारिक निर्णय र अख्तियारीबिना पत्र तयार गरी प्रयोग गरिएको थियो। आफूले पार्टी नत्यागेको, अर्को दलमा प्रवेश नगरेको र राजीनामा पनि नदिएको अवस्थामा अनधिकृत पत्रका आधारमा पदमुक्त गरिएको उनको दाबी छ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा पार्टीको निर्देशन उल्लङ्घन गरेको आरोपपछि संसदीय दलका नेता सन्तोषकुमार पाण्डेको सिफारिसमा प्रदेशसभा सचिवालयले काफ्लेको पद रिक्त भएको सूचना जारी गरेको थियो। विवादित पत्र भदौ २२ गते सचिवालयमा दर्ता भएको र भदौ २४ गते पदमुक्त भएको सूचना जारी गरिएको थियो।

पदमुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेकी काफ्लेको पक्षमा अदालतले २०८३ असोज ६ गते उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

जिल्ला अदालतमा दायर मुद्दामा काफ्लेले मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ र २७७ लगायत प्रचलित कानुनअनुसार कारबाही गर्न माग गरेकी छन्। उनले विवादित पत्रको सक्कल प्रति, दर्ता तथा चलानी किताब, पार्टीका आधिकारिक निर्णय, लेटरहेड, छाप र हस्ताक्षर परीक्षण गरी पत्रको आधिकारिकता यकिन गर्न माग गरेकी छन्।

विवादित लिखतलाई कीर्ते तथा जालसाजीपूर्ण ठहर गरी अमान्य घोषित गर्न र आफूले व्यहोरेको क्षतिको कानुनी उपचार दिलाउनसमेत उनले माग गरेकी छन्।

प्रकाशित मिति: २०८३ कार्तिक ११, बुधवार ०७:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको