विधान र कानुनअनुसार नै कांग्रेसको महाधिवेशन प्रक्रिया अघि बढ्दैछ निधी



जनकपुरधाम मंसिर ४ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले पार्टीको १५औँ महाधिवेशन विधान, देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै अघि बढिरहेको बताउनुभएको छ ।

शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधीले आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

महाधिवेशनको तयारीस्वरूप देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १४४ क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको उहाँले बताउनुभयो । त्यसैगरी ७७ जिल्लामध्ये ५२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको र बाँकी जिल्लामा प्रक्रिया जारी रहेको उहाँको भनाइ छ । यसैबीच नेता निधीले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा जनकपुरधामदेखि भारतको अयोध्यासम्म रेल सेवा नियमित सञ्चालन गर्न पहल गर्नुपर्ने बताउनुभएको छ । साथै जनकपुरधाममा हवाई सेवा पुनः सुरु गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

प्रधानमन्त्रीको भारत भ्रमणबाट नेपालको आर्थिक विकास, सीमा व्यवस्थापन, यातायात तथा अन्य द्विपक्षीय विषयमा सकारात्मक प्रगति हुने विश्वाससमेत नेता निधीले व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति: २०८३ मंसिर ४, शुक्रवार १५:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको