जनकपुरधाम, मंसिर ८ । भारतको अयोध्याबाट जनकपुरधामका लागि सञ्चालन भएको सरयू कमला एक्सप्रेस रेल मंगलबार बिहान जनकपुर आइपुगेको छ। रेलमा सवार एक हजारभन्दा बढी तीर्थयात्रीलाई जनकपुरधाममा नेपाली तथा भारतीय राष्ट्रिय झण्डासहित भव्य स्वागत गरिएको छ।
सोमबार दिउँसो भारतको अयोध्याबाट प्रस्थान गरेको रेल जनकपुरधाम आइपुग्दा सरकारी प्रतिनिधि, स्थानीयवासी तथा सर्वसाधारणले फूलमाला र सांस्कृतिक कार्यक्रममार्फत तीर्थयात्रीको स्वागत गरेका थिए।
प्रधानमन्त्री बालेन शाहको राजकीय भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहले नयाँ दिल्लीबाट झण्डा देखाएर रेलसेवाको शुभारम्भ गरेका थिए।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार १७ डब्बा रहेको सरयू कमला एक्सप्रेसमा एक हजारभन्दा बढी तीर्थयात्री जनकपुरधाम आएका छन्। उनीहरूलाई रेल्वे स्टेसनसहित विभिन्न स्थानमा स्वागत गरिएको उनले बताए।
जनकपुरधाममा केही समय बिताउने तीर्थयात्रीले जानकी मन्दिरलगायत धार्मिक तथा सांस्कृतिक स्थलको दर्शन गर्ने कार्यक्रम छ। जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासका अनुसार अयोध्याबाट आएका श्रद्धालुका लागि मन्दिरमा दर्शन तथा पूजाको व्यवस्था मिलाइएको छ।
तीर्थयात्रीलाई जनकपुरधाममा करिब तीन घण्टा बस्ने समय दिइएको छ। उनीहरूलाई स्वागत तथा खाजा व्यवस्थापनपछि मंगलबार दिउँसो १ बजेसम्म अयोध्याका लागि बिदाइ गर्ने तालिका रहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ।
अयोध्या भगवान् रामको जन्मभूमि र जनकपुरधाम माता सीताको माइतीका रूपमा परिचित छन्। धार्मिक तथा सांस्कृतिक सम्बन्धले जोडिएका यी दुई सहरबीच रेलसेवा सञ्चालन भएपछि नेपाल–भारतबीचको धार्मिक पर्यटन, सांस्कृतिक आदानप्रदान र परम्परागत रोटीबेटी सम्बन्ध थप विस्तार हुने अपेक्षा गरिएको छ।



