सिरहा मंसिर ८ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद डा. अमरेश सिंहले शिक्षा र जनचेतनाको विस्तार गर्ने उद्देश्यसहित पूर्व–पश्चिम पदयात्रा अघि बढाउनुभएको छ। छठ पर्वको भोलिपल्ट झापाबाट सुरु भएको उहाँको पदयात्रा मोरङ, सुनसरी र सप्तरी हुँदै सिरहाको भगवानपुर आइपुगेको हो।
बलान नदी पार गरेर भगवानपुर पुग्नुभएका सांसद सिंहले हुलाकी मार्ग आसपासका विभिन्न बस्तीको भ्रमण गर्दा तराई–मधेशका सुगम क्षेत्रमै पनि शिक्षा र जनचेतनाको अवस्था सन्तोषजनक नरहेको पाइएको बताउनुभयो। भगवानपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मधेशमा शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र सुशासनका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्नुभयो। सरकारले भ्रष्टाचार नियन्त्रणका लागि माथिल्लो तहदेखि नै अभियान सञ्चालन गरेको उहाँको भनाइ थियो।
सिंहले स्थानीय तथा प्रदेश सरकारमा देखिएका बेथिति र विकृति हटाउन ती तहमा पनि रास्वपाको नेतृत्व आवश्यक रहेको धारणा राख्नुभयो। गाउँका विद्यालय र स्वास्थ्य चौकीको सेवा प्रवाहदेखि सडक पूर्वाधारको सुधारसम्म स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो।
मधेशको सामाजिक तथा आर्थिक विकासमा दाइजो प्रथा, अन्धविश्वास र कुशासन चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उहाँले यस्ता समस्या समाधानका लागि शिक्षा र जनचेतना अभिवृद्धिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।
“वर्तमान सरकारले भ्रष्टाचारको जरो उखेल्ने गरी काम थालेको छ। चुनावमा गरिएको सुशासन र विकासको नारा कार्यान्वयन हुने कुरामा ढुक्क हुनुस्,” सांसद सिंहले भन्नुभयो।
सांसद सिंहले दैनिक करिब ३० किलोमिटर पैदल यात्रा गरिरहनुभएको छ। उहाँको आज सिरहा नगरपालिका पुग्ने र भोलि धनुषातर्फ लाग्ने कार्यक्रम रहेको छ। सिरहाको भगवानपुरबाट नवराजपुर, बरियारपट्टि र औरही हुँदै सिरहा पुग्ने पदयात्राको कार्यक्रम तय गरिएको सिरहा–३ का सांसद शम्भु यादवले जानकारी दिनुभयो।



