संसद बैठक आज, सबै अध्यादेश निर्णयार्थ पेस गरिंदै पास हुने नहुनेमा अन्यौलता कायमै



जनकपुरधाम, माघ २४ । संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दै छ । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्न लागेको हो ।

आजको प्रतिनिधि सभा बैठकले संसद नचलेको बेला सरकारले ल्याएका सबै अध्यादेशलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।

निर्णयार्थ पेस गर्नु अगाडि अस्वीकृतको सूचना दिनेलाई बोल्न दिइनेछ । २९ पुसमा थप चारवटा अध्यादेश जारी भएको थियो भने २ माघमा राष्ट्रपतिले अर्को एउटा अध्यादेश जारी गरेका थिए । त्यसअघि १४ पुसमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी भएको थियो ।

सबै ६ वटा अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन् । ६ वटा अध्यादेशउपर प्रतिनिधि सभामा ५० वटा अस्वीकृतको सूचना दर्ता भएका छन् । प्रतिनिधिसभामा अध्यादेश अस्वीकृतको प्रस्तावकर्ताले ५ मिनेट र समर्थकले ३ मिनेट बोल्न पाउने भएका छन् ।

अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत भएपछि संसदमा सुरु मा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ स्वीकृत गरियोस भनि प्रस्ताव गर्नेछन् । त्यसपछि सम्बन्धित मन्त्रीले अध्यादेश पालैपालो पारितका लागि पालैपालो प्रस्ताव गर्नेछन् ।
अध्यादेशमा संसदमा पेश गर्ने कार्यसूचि रहेपनि पास हुने की नहुने भने अन्यौलता कायमै छ । प्रतिनिधिसभा बाट पास हुनेमा कुनै शंका नरहेपनि राष्ट्रिय सभामा सत्तापक्ष संग बहुमत नहुँदा अन्यौलता बढेको हो ।
५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेस (१६), नेकपा एमाले (१०) र लोकतान्त्रिक समाजवादी पार्टी (१) गरेर सत्तापक्षतर्फ २७ जना सांसद छन । मनोनीत सांसद डा. अन्जान शाक्य नेकपा एमाले समर्थित हुन् । उनलाई जोड्दा सत्तापक्षको सांसद संख्या २८ पुग्छ । अर्का मनोनित सांसद बामदेव गौतमले पनि अध्यादेश स्वीकृतिका लागि मत दिँदा २९ पुग्छ ।

विपक्षमा पनि उस्तै मत छ । माओवादी केन्द्र (१७), नेकपा एकीकृत समाजवादी (८) र राष्ट्रिय जनमोर्चा (१) गरेर २६ जना सांसद विपक्षी मोर्चामा छन । राष्ट्रिय सभाका अध्यक्ष माओवादीकेन्द्र समर्थित भएपनि उनले बराबरीको अवस्थामा मात्र मत हाल्न पाउछन ।
यता जनता समाजवादी पार्टी नेपाल संग राष्ट्रियसभामा (३) जना सांसद छन । जसपा नेपालले सत्तापक्षलाई समर्थन गरे सहर्जै स्वीकृति हुने अवस्था छ भने प्रतिपक्षलाई साथ दिए मत बराबरी हुने र अध्यक्षले मतदान गरे अस्वीकृत हुने अवस्था रहेको छ ।
तर जसपा नेपालले भने अहिले सम्म कुनै निर्णय गरेको छैन । आज ११ बजे बस्ने जसपा नेपाल संसदीय दलको बैठकले अध्यादेश बारे निर्णय गर्ने बताइएको छ । जसपाको निर्णय पछि मात्र अध्यादेश स्वीकृत हुने की नहुने सुनिश्चित हुने छ ।

प्रकाशित मिति: २०८१ माघ २४, बिहिवार ०८:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको