बलियो मधेशी शक्ति निर्माणमा तगाडो बन्दै शीर्षदल



जनकपुरधाम, माघ २७ । एकल नश्लिय शासन व्यवस्थालाई चुनौती दिने काम मधेश बाट शुरु देखी नै हुँदै आएको छ । प्रजतान्त्र स्थापना भए लगतै २००८ सालमा तराई काँग्रेसको व्यानरमा होस वा २०४७ साल पछि सदभावनाको व्यानरमा । दोस्रो जनविद्रोह पछि २०६३मा तत्कालिन मधेशी जनअधिकार फोरमको व्यानरमै किन नहोस । राज्य सत्तालाई चुनौती दिदै मधेशी जनताको अधिकार पहिचान सहितको आवाजलाई बुलन्द गर्दै आएको छ ।

तर जव जब बलियो मधेशी शक्ति निर्माण हुन लाग्छन त्यति बेला कथित शीर्ष दलहरु तगाडो बन्दै मधेशको शक्तिलाई कमजोर गर्न लागि पर्छन ।

मधेशी शक्तिलाई कमजोर पार्ने राज्य सत्ताको खेल गजेन्द्र बाबुको पाला देखी नै शुरु भएको हो । जुन पछिल्लो समयमा थप विकसित भएको छ । २०६३ ÷६४ को मधेश विद्रोह पछि निर्णायक शक्तिको रुपमा आफुलाई स्थापित गरेको तत्कालिन मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी र सदभावना पार्टीलाई टुक्रा टुक्रामा विभाजन गर्न राज्य शक्तिको आडमा शीर्ष दलहरुले गरेको नाङ्गो नाच कसैबाट लुकेको छैनन् र त्यो क्रम अहिले पनि जारी नै छ । मधेशी शक्तिहरु एक हुँदा एकल नश्लीय राज्य सत्तालाई मजबुत चुनौती दिने भएपछि ती शक्तिलाई कमजोर पार्न शीर्ष दलहरु कुनै नकुनै तिकडम शुरु गर्छन ।

केही महिना अघि मात्र एमाले र माओवादी मिलेर जनता समाजवादी पार्टीलाई विभाजन गराएका थिए भने पछिल्लो निशानामा जनमत पर्न थालेका छन । शुक्रवार मात्रै एमाले नेता महेश बस्नेतले जनमत अध्यक्ष सिके राउत र सोही पार्टी बाट मधेशका मुख्यमन्त्री रहेका सतिश सिंह बीच खेल्ने प्रयास गरेका छन । यसै खेलबाट जनमत विभावन गराउने उनिहरुको लक्ष्य रहेको स्रोत दावी गर्छन ।

पछिल्लो समयमा मधेश केन्द्रित ८ दल बीच मोर्चाबन्दीको कुरा तीब्र गतिमा मुर्तरुप लिदै गर्दा शीर्ष दलबाट प्रहार भएको पछिल्लो तुरुपको रुपमा यस घटनालाई लिनु पर्दछ ।

जनता समाजवादी पार्टीका सचिव शैलेन्द्र प्रसाद साह समाजका उत्पीडित समुदायलाई स्थापित हुन नदिन राज्य शक्ति शुरु देखी नै लागि परेको बताउछन । उनि भन्छन ,‘काँग्रेस एमाले त शुरु देखी नै एकल नश्लिय पार्टी हुन तर जनयुद्ध बाट आएका माओवादी पनि सोही बाटोमा लागेका छन ।’ जसपा विभाजन आफैले गराएको प्रचण्डको स्वीकारोक्तिले पनि बलियो मधेशी शक्ति उनिहरुले देख्नै नचाहेको प्रस्ट भएको उनि बताउछन ।

मधेश केन्द्रित दलहरु अहिले सम्म सत्तामै नगएको दावी गर्दै साहले शीर्ष दलहरु विभिन्न प्रलोभनमा मधेश केन्द्रित दलहरुलाई कमजोर गर्दै आएको र उनिहरुको प्रपञ्चमा मधेश केन्द्रित नेताहरु समेत फस्दै आएको दावी गर्दछन ।

यता लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव परमेश्वर साह मधेश शक्तिहरुलाई कमजोर पार्न शीर्ष दलहरु चलखेल गर्नुलाई स्वभाविक मान्छन । उनि भन्छन ,‘ त्यसलाई म त स्वभाविक रुपमा लिन्छु । एकल नश्लिय शासकका संचालकहरु मधेशको शक्तिलाई किन एक हुन दिन्छ । समस्या हामी आफैमा पनि छ ।’

एक अर्काको अस्तित्वलाई नस्वीकार्नु मधेश केन्द्रित दल र त्यसका नेताहरुको मुख्य कमजोरी रहेको लोसपा महासचिव साह दावी गर्छन । मधेशी शक्तिहरु एक हुन लाग्दा राज्य सत्ताले चलखेल गर्नु उनिहरुको धर्म नै रहेकाले मधेश केन्द्रित दल र तीनका नेताहरुलाई इमान्दार हुनु आवश्यक रहेको बताउछन ।

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले मधेशमा अभिभावकत्वको कमी रहेकाले शीर्ष दलहरु पटक पटक खेल्ने मौका पाइ रहेको बताउछन । उनि भन्छन ,‘ मधेशी शक्तिलाई कमजोर गर्न हामी आफै मौका दिइ रहेका हुन्छौ , त्यसको अन्त गर्नु पर्दछ ।’

जब जब मधेशी शक्तिहरु एक ठाउँमा आउने प्रयास गर्छन, वा मधेश केन्द्रित दल बलियो हुन थाल्दछन , त्यती बेला एकल नश्लिय शासन सत्ताका पृष्टपोषक शीर्ष दलहरु तगारो बनि उभ्न थाल्दछन । अहिले पनि त्यसको प्रयास जारी नै छ । तर के मधेश केन्द्रित दल र त्यसका शीर्ष नेताहरु त्यसलाई रोक्न सक्षम हुन्छ ? अहिलेको यक्ष प्रश्न नै यही हो ।

प्रकाशित मिति: २०८१ माघ २७, आइतवार १०:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको