इण्डो नेपाल हस्पिटल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन



वीरगञ्ज, फागुन ८ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले वीरगञ्जका निजी अस्पतालहरूको छड्के अनुगमन गरेका छन् ।

मुख्यमन्त्री सिंह नेतृत्वको टोली हिजो वीरगञ्ज  पुगेर नगरका विभिन्न ७ वटा निजी अस्पतालहरूको अनुगमन गरेको हो । अनुगमन गर्ने क्रममा वीरगञ्जस्थित नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टरलाई बन्द गर्न निर्देशन दिएका छन् ।

अस्पतालले अनुमति नलिई सञ्चालन गरेको पाइएकाले अस्पतालमा उपचार गराइरहेका बिरामीको अन्यत्र स्थानान्तरण गरी पूर्णरुपमा बन्द गर्न निर्देशन दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरले जनाएका छन् ।

मुख्यमन्त्री सिंहले अस्पतालमा अन्य नयाँ कुनै पनि बिरामी भर्ना नलिन र पूर्णरुपमा अस्पताल बन्द गर्न निर्देशन दिएको बताए ।

उनले अनुगमनको क्रममा अस्पतालहरूमा फोहोरको व्यवस्थापनमा लापरबाही गरेको भेटिएको बताउँदै संक्रामक रोगको जोखिम बढ्ने हुँदा अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।

वीरगञ्जस्थित बसपार्क नजिक लिंक रोडमा रहेको भवानी हस्पिटल र बाइपासमा रहेको स्पर्श मल्टिस्पेशलिटी हस्पिटल प्रालिलाई नवीकरण नगरेको पाइएकोले नवीकरण गर्न निर्देशन दिइएको छ ।

श्री भवानी हस्पिटल एण्ड रिर्सच सेन्टर, प्रभु हस्पिटल, नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर, सर्वोत्तम अस्पताल, आशाराम हस्पिटल, स्पर्श मल्टीस्पेस्यालिटी अस्पताल लगायत विभिन्न निजी अस्पतालहरूको अनुगमन गरिएको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन ८, बिहीबार १३:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको