रिंकु सदालाई न्यायको मांग गर्दै जनकपुरमा दीप प्रज्वलन



जनकपुरधाम, फागुन ८ । बलात्कारको घटना ढाकछोप गर्ने प्रयास पछि आत्महत्या गरेकी रिंकु सदा मृत्यु प्रकरणमा न्यायको मांग गर्दै आज जनकपुरधाममा दीप प्रज्वलन गरेको छ ।

दलित सम्बद्ध संघसंस्थाको अगुवाई घटनामा संलग्न दोषीहरुमाथि अविलम्ब कारवाही एवं मृत आत्माको चिरशान्तिको कामना गर्दै जनकपुरधामको जनकचोकमा दीप प्रज्वलन गरिएको दलित अभियन्ता रामो महराले जनाएका छन ।

संयुक्त राजनीतिक दलित संघर्ष समिति मधेश प्रदेश र दलित महिला संघ धनुषाले संयुक्त रुपमा दीप प्रज्वलनको आयोजना गरेको थियो ।

यता यसअघि स्थानीय एक युवक रुपेश मण्डलविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएको परिवारले अहिले थप व्यक्तिलाई प्रतिवादी बनाउँदै बलात्कारको कसुरमा अनुसन्धान गर्नुपर्ने माग राखेर पूरक जाहेरी समेत दिएको छ ।
मधेश प्रदेशका डीआईजी लालमणि आचार्यले पनि पूरक जाहेरी आएको पुष्टि गर्दै अनुसन्धान अघि बढाएको बताएका छन ।

प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धानको प्रक्रियालाई अघि बढाएको छ । उनका अनुसार बलात्कार आत्महत्या दुरुत्साहन गरी दुई कसुरमा जाहेरी आएको छ । जसमा यसअघि बलात्कारको आरोप लागेको भनिएका युवकदेखि छलफलमा सहभागीहरूलाई प्रतिवादी बनाइएको छ । अहिलेसम्म ७ जनाविरुद्ध जाहेरी आएको र उक्त जाहेरी दर्ता भएको उनले बताए।

रिंकुकुमारी ३० माघ राति ७ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यो भन्दा अघिका घटनाक्रमले भने उनको मृत्यु शंकास्पद रहेको देखाएको थियो ।

मृत्यु हुनुअघि रिंकुले आफूमाथि सामूहिक बलात्कार भएको बताएपछि घटना सामसुम पार्न माघ २९ गते गाउँमै पञ्चायती सभा समेत बसेको थियो ।

 

प्रकाशित मिति: २०८१ फाल्गुन ८, बिहीबार १८:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको