रिंकुलाई न्याय देउ भन्दै जनकपुरमा सडक धर्ना, भेटन मानेनन् मुख्यमन्त्री



जनकपुरधाम, फागुन ११ । राजनीतिक दल सम्बद्ध विभिन्न दलित संघ संगठनहरुले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदालाई न्याय देउ भन्दै जनकपुरधाममा सडक अवरोध गरि धर्ना दिएका छन ।
जनकपुरधामस्थित जनक चोकमा संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित महिला संघ, धनुषाले बाटो अवरोध गरि धर्ना दिएका थिए । उनीहरुले दलितमाथी बारम्बार ज्यादती भइरहँदा पनि सरकार मौन बसेको भन्दै सरकारविरुद्ध नाराबाजीसमेत गरेका छन ।


जनकचोकमा एक घण्टा धर्ना दिएका दलित अगुवाहरु नारा जुलुस सहित मुख्यमन्त्री कार्यालयको मुख्यद्वार सम्म पुगेर त्याहाँ पनि एक घण्टा धर्ना दिएको दलित अगुवा रामो महराले जानकारी दिए । मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिदा समेत मुख्यमन्त्री सतिश कुमार सिंहले भेटन नमानेको महराले बताए ।
धर्नामा बसेकाहरुले मधेश प्रदेशका मुख्यमन्त्रीले रिंकु सदाको विषयमा कुनै चाँसो नदेखाए भन्दै आक्रोस व्यक्त गरेका छन् । अनुगमनको नाममा जिल्ला जिल्ला पुग्ने मुख्यमन्त्री सिंहलाई एउटा तल्लो जातको दलित समुदायको घर पुग्न अप्ठायारो लागेको हो की भनेर उनीहरुले प्रश्न गरेका छन् ।
उनीहरुले मानव अधिकार आयोग, महिला अधिकार आयोग र मधेशी आयोगले अहिलेसम्म कुनै चाँसो नराखेको भन्दै समेत आक्रोस व्यक्त गरेका छन । रिंकु सदालाई बलात्कार गर्ने तीनै जना र यस घटनाको मिलापत्र गर्न बसेका पञ्चलगायत सम्पूर्ण अपराधीलाई कडा भन्दा कडा सजाय नदिए सम्म विरोध गरिरह्ने चेतावनी दिएका छन् ।
नगरमा नाराजुलुश प्रदर्शन गर्दै दलित अगुवाहरुले मानवअधिकार आयोग र प्रदेश प्रहरी कार्यालय समेतमा ज्ञापन पत्र बुझाएका छन ।

रिंकुकुमारी गएको माघ ३० गते बेलुका ७ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसअघि उनले गाउँके तीन जना केटाले आफूलाई बलात्कार गरेको जानकारी दिएपछि गाउँमै पञ्चात बसी तीनै जना केटासंग १ लाख ५० हजार रुपैयाँ तिराउने निर्णय भएको थियो । सो निर्णय रिंकु र उनको परिवारलाई मन परेको थिएन ।
यसैबीच रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ।
घटनाबारे सोधपुछ गर्नका लागि शनिबार ८ जनालाई नियन्त्रणमा लिइएको छानबिन समितिका प्रमुख एसएसपी शान्तिराज कोइरालाले जानकारी दिए। ‘पञ्चायत बसेका लगायत केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौं,’ एसएसपी कोइरालाले भने,’जाहेरी परेकाहरूलाई भने प्रहरीले खोजिरहेको छ।’
रिंकुका परिवारले बिहीबार इलाका प्रहरी कार्यालय लहानमा सामूहिक जबरजस्ती करणीसहित चारवटा मुद्दामा ८ जनाविरूद्ध पूरक जाहेरी दिएका थिए।
कर्तव्य ज्यान, जबरजस्तीकरणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा पूरक जाहेरी दिएका हुन्। यसअघि फागुन १ गते आत्महत्या दुरूत्साहन सम्बन्धीमात्र जाहेरी दिइएको एसएसपी कोइरालाले जानकारी दिए।

प्रकाशित मिति: २०८१ फाल्गुन ११, आईतवार १६:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको