जनकपुरधाम, फागुन १३ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा आफू प्रधानमन्त्री भएपछि मात्रै १५ औं महाधिवेशन गराउने पक्षमा रहेको दाबी गरेका छन् ।
महेन्द्रनारायण निधिको १०४ औँ जन्म जयन्तीका अवसरमा जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले देउवासँग बुझ्दा प्रधानमन्त्री भएपछि ०८४ को चुनाव गराएरै महाधिवेशन गराउने मनसाय पाएको बताए ।
त्यसबारे उनको भनाइ जस्ताको तस्तैः
अब पार्टीको अधिवेशन कहिले हुन्छ भन्ने सबैको मनमनमा होला। अधिवेशनको बारेमा मैले शेरबहादुरजीलाई सोधे । उहाँलाई सोध्नुभन्दा पहिला मैले एउटा अन्तर्वार्तामा भनेको थिए चुनावभन्दा दुई वर्ष पहिला अधिवेशन गराए राम्रो हो ।
तर, त्यसपछि गरायौं भने हामी अफ्ठ्यारो पर्छौँ। चुनावमा मुखमा अधिवेशन गरायौं भनेर राम्रो हुँदैन । त्यसैले दुई बर्ष पहिलो गरायो भने भनेको ०८२ सालमा गरायो भने हो नभए ०८४को चुनावपछि गराउनुपर्छ ।
शेरबहादुरजीलाई मैले सोध्दा उहाँले दोस्रो विकल्प समात्नुभयो। उहाँको मनोविज्ञान के छ भने पहिला म प्रधानमन्त्री भइहालू, अनि अधिवेशन गराउँ भन्नेमा देखिन्छ ।




