माध्यमिकी परिक्रमाका पडावस्थलमा स्वागतको तयारी, आज गिरिजा स्थान



जनकपुरधाम, फागुन १७ । मिथिला माध्यमिकी परिक्रमाका आज भारतको गिरिजा स्थान (फुलहर) पुग्दैछ । यात्रीका लागि यहाँका रात्रि पडावस्थल (विश्रामस्थल)मा भव्य स्वागतको तयारी गरिएको छ ।

मिथिलाको महाकुम्भ भनिने १५ दिने परिक्रमा यात्रा बिहीबार सुरु भएको छ । यात्रीका लागि पडावस्थलमा भोजन, आवास, प्राथमिक स्वास्थ्योपचार र सुरक्षासहितका तयारी गरिएको हो । जिल्लाका मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवन क्रमशः चौथो, पाँचौँ, छैटौँ, सातौं र आठौँ दिनका रात्रि विश्रामस्थल रहँदै आएका छन् ।

धनुषाको मिथिलाविहारी–८ कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट मिथिलाविहारीको प्रतिमा डोलामा राखी सुरु भएको यात्रा जनकपुरधाम–८ स्थित अग्निकुण्डको सुन्दर सदनबाट किशोरीजीको डोला लिँदै अघि बढेको छ । पहिलो दिन धनुषाको हनुमानगढीमा रात्रि विश्राम गरेको परिक्रमाको टोली दोस्रो दिन रात्रिबासका लागि भारतको मधुवनी जिल्लामा पर्ने कलना पुगेको थियो भने आज गिरिजा स्थान पुग्दै छ ।

आइतबार मटिहानीबाट महोत्तरी प्रवेश गर्ने छन् । “हामी यात्रीको स्वागत, सत्कार र आवश्यक प्रबन्धमा जुटेका छौँ, परिक्रमा यात्रीको स्वागत हाम्रा लागि एक विशेष अवसर मानिदै आएको छ”, मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल भन्छन्, “यस कार्यमा नगरवासीले आफ्नो सामथ्र्य लुकाउँदैनन्, मन, वचन र कर्मबाट सबैले सहयोग गर्दै आएका छन् ।”

पडावस्थलमा सो दिन परिक्रमा मेलाको परम्परा रहँदै आएको छ । यात्रामा सहभागी हुन नसकेका सर्वसाधारण आफ्नो ठाउँमा आइपुगेको श्रीराम र सीताजीका प्रतिमा राखिएका डोलाको दर्शन गरेर पुण्यको कामना गर्छन् । मेलामा हजारौँ सर्वसाधारणको सहभागिता हुने हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त स्थानीय स्वयंसेवक परिचालन गर्ने गरिएको उनले बताए ।

महोत्तरीमा पर्ने रात्रि विश्रामस्थलहरु मटिहानी, जलेश्वर, महोत्तरी, बलवा र भङ्गाहासहित पाँचवटै स्थानीय तहमा यात्रीको सुविधा प्रबन्धका लागि सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, सामाजिक सङ्घसंस्था, व्यापारी र सर्वसाधारण समन्वय गरिरहेका छन् ।

नेपालतर्फ महोत्तरी र धनुषा एवं भारतको मधुवनी जिल्लाका केही भाग समेटिएको कुल एक सय ३३ किलोमिटर वृतभित्र माध्यमिकी यात्रा गरिन्छ । जसमध्ये नेपालतर्फ एक सय सात किलोमिटर र भारततर्फ २८ किमी दूरी रहेको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन १७, शनिवार ०७:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको