धनगढी, असोज १० । लगातारको वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कैलाली र कञ्चनपुरबाहेक प्रदेशका सबै पहाडी जिल्लामा स्थानीय प्रशासनले सवारी आवागमन बन्द गर्ने निर्णय गरेका हुन् ।
सम्बन्धित जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शनिबार बिहान ७ बजेदेखि आइतबार बिहान ७ बजेसम्म छोटो तथा लामो दूरीका सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार निरन्तर वर्षाका कारण सम्भावित बाढी, पहिरो तथा सडक अवरुद्ध हुने जोखिमलाई ध्यानमा राखेर सवारी आवागमन रोकिएको हो ।
उनका अनुसार पहाडी जिल्लातर्फ जाने छोटो तथा लामो दूरीका सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न पाइने छैन । तराईका कैलाली र कञ्चनपुरमा भने तुलनात्मक रूपमा जोखिम कम रहेकाले सवारीसाधन सञ्चालन भइरहेका छन् ।
ट्राफिक प्रहरीले रोकसम्बन्धी सूचना थाहा नपाएर पहाडी क्षेत्रमा जाँदै गरेका केही सवारीसाधनलाई कैलालीको खानीडाँडामा रोकेर फर्काएको जनाएको छ ।
सुदूरपश्चिमका नौवटै जिल्लामा शुक्रबारदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण विभिन्न स्थानमा बाढी तथा पहिरोको जोखिम बढेकाले स्थानीय प्रशासनले नागरिकलाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरेको छ ।






