एजेन्सी, असोज १५। अमेरिकी रक्षा सचिव पेटे हेगसेथले अमेरिकी सेनामा जनरल र एडमिरलको संख्या २० प्रतिशतले घटाउने घोषणा गरेका छन्। उनले बुधबार भर्जिनियास्थित मरीन कोर्प्स बेस क्वान्टिकोमा आयोजित ‘स्टेट अफ द फोर्स’ सम्बोधनका क्रममा यस्तो घोषणा गरेका हुन्।
हेगसेथका अनुसार अमेरिकी सेनाका सबै सैन्य सेवामा उच्च तहका सैन्य अधिकारीको संख्या घटाइनेछ। यसअन्तर्गत करिब ८ सय फ्ल्याग अफिसर तथा जनरल अफिसर पद कटौती हुने बताइएको छ। यो प्रक्रिया आगामी १ जनवरी २०२७ सम्म पूरा गर्ने लक्ष्य राखिएको छ।
यसअघि उच्च तहका सैन्य अधिकारीको संख्या १० प्रतिशतले घटाउने आदेश दिइएको थियो। त्यसलाई बढाएर कुल २० प्रतिशत कटौती गर्ने निर्णय गरिएको हो। हेगसेथले यो कदम सैन्य नेतृत्वमा जवाफदेहिता बढाउन र लामो समयदेखि आवश्यक ठानिएको संरचनागत सुधार अघि बढाउन चालिएको बताएका छन्।
उच्च तहका सैन्य अधिकारीको संख्या घटाउनेसँगै अमेरिकी सेनाले स्वायत्त तथा रोबोटिक सैन्य प्रविधिको क्षमता विस्तार गर्ने तयारी गरेको छ। यसका लागि नयाँ चार(स्टार कमान्ड स्थापना गर्ने घोषणा पनि गरिएको छ।
हेगसेथले सैन्य संरचनामा भइरहेको परिवर्तनलाई आधुनिक सैन्य इतिहासकै तीव्र शान्तिकालीन पुनर्संरचनामध्ये एक भएको दाबी गरेका छन्। उनले अमेरिकी सेनालाई आधुनिक युद्धका लागि थप सक्षम बनाउने र युद्धक क्षमतामा सुधार गर्ने विषयमा जोड दिएका छन्।
यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनअन्तर्गत अमेरिकी सैन्य नेतृत्व र संरचनामा भइरहेको व्यापक परिवर्तनको हिस्सा भएको बताइएको छ। यसअघि पनि उच्च तहका सैन्य अधिकारीको संख्या घटाउने प्रक्रिया अघि बढाइएको थियो।
तर केही अमेरिकी सांसदले भने यस्तो ठूलो कटौतीप्रति असहमति जनाएका छन्। उनीहरूले सैन्य नेतृत्वमा भएको क्षति पुनःपूर्ति गर्न लामो समय लाग्न सक्ने भन्दै निर्णयको आलोचना गरेका छन्।






