इरान आसपास अमेरिकी सैन्य तैनाथी बढ्दै, होर्मुज जलडमरुमा तेल ट्यांकरमा आगलागी



एजेन्सी, असोज १६ । इरान आसपास अमेरिकाले सैन्य उपस्थिति बढाउने तयारी गरिरहेका बेला विश्वकै प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक होर्मुज जलडमरुमा ठूलो तेल ट्यांकरमा आगलागी भएको छ।

अमेरिकी एक अधिकारीलाई उद्धृत गर्दै अल जजिराले जनाएअनुसार अमेरिकाले इरान नजिक तीनवटा विमानवाहक पोत र दुईवटा मरीन ल्यान्डिङ समूह तैनाथ गर्ने तयारी गरिरहेको छ।

अधिकारीका अनुसार अमेरिकी नौसेनाको रुजवेल्ट स्ट्राइक ग्रुप र करिब २ हजार अमेरिकी मरीन सैनिकसहितको मकिन आइल्यान्ड फोर्स स्यान डिएगोबाट प्रस्थान गरिसकेको छ। अमेरिकी सैन्य तैनाथीको पूर्ण विस्तार नोभेम्बरसम्ममा पूरा हुने बताइएको छ।

इरानसँगको तनावपूर्ण क्षेत्रतर्फ अमेरिकी सैन्य गतिविधि बढिरहेका बेला होर्मुज जलडमरुमा तेल ट्यांकरमा आगलागी भएको हो।

युके मेरिटाइम ट्रेड अपरेसन्स ९यूकेएमटीओ०का अनुसार होर्मुज जलडमरु हुँदै गइरहेको एक विशाल तेल ट्यांकरमा अज्ञात वस्तु प्रहार भएपछि आगलागी भएको छ। उक्त सुपरट्यांकरमा करिब २५ लाख ब्यारेलसम्म तेल बोक्न सक्ने क्षमता रहेको बताइएको छ।

घटना होर्मुज जलडमरुको क्षेत्रमा भएको भए पनि ट्यांकरमा प्रहार गर्ने व्यक्ति वा समूहको तत्काल पहिचान हुन सकेको छैन। घटनामा जहाजको अवस्था तथा सुरक्षासम्बन्धी थप विवरणसमेत सार्वजनिक हुन बाँकी छ।

होर्मुज जलडमरु विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्ग हो। खाडी क्षेत्रबाट विश्व बजारतर्फ ठूलो परिमाणमा कच्चा तेल तथा अन्य ऊर्जा सामग्री यही मार्ग हुँदै ढुवानी हुने गर्छ।

यस क्षेत्रमा अमेरिकी सैन्य गतिविधि विस्तार र समुद्री सुरक्षासम्बन्धी पछिल्लो घटनाले खाडी क्षेत्रमा बढ्दो सैन्य तथा सामुद्रिक तनावलाई थप चासोको विषय बनाएको छ। यद्यपि ट्यांकरमा आगलागीको कारण र घटनामा कसको संलग्नता थियो भन्नेबारे आधिकारिक रूपमा पुष्टि हुन बाँकी छ।

प्रकाशित मिति: २०८३ आश्विन १६, शुक्रबार ०८:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको