इरानमाथि ठूलो सैन्य कारबाहीको तयारीमा अमेरिका



एजेन्सी, कात्तिक १० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि अमेरिकाले इरानमाथि ठूलो सैन्य कारबाहीको तयारी तीव्र पारेको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनको रिपोर्टअनुसार, ट्रम्पको आदेश प्राप्त भए ९६ घण्टाभित्र आक्रमण सुरु गर्न सक्ने गरी अमेरिकी सेनाले तयारी गरिरहेको छ।

रिपोर्टअनुसार, अमेरिकी सेन्ट्रल कमान्ड र पेन्टागनका अधिकारीहरूले सम्भावित आक्रमणका लागि लक्ष्यहरूको सूची तयार पारिरहेका छन्। यसपटक इरानका रडार प्रणाली, क्षेप्यास्त्र प्रक्षेपण केन्द्र र सैन्य अखडासँगै ऊर्जा पूर्वाधार तथा आणविक केन्द्रसमेत निशानामा पर्न सक्ने बताइएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार इरानी सेना अमेरिकी सैन्य रणनीतिबारे पहिलेभन्दा बढी जानकार भएकाले लक्षित संरचनाहरू नष्ट गर्नु चुनौतीपूर्ण हुन सक्छ।

यद्यपि, ट्रम्पले सैन्य कारबाहीबारे अन्तिम निर्णय गरिसकेको रिपोर्टमा उल्लेख छैन। यसअघि पनि उनले आक्रमणको संकेत दिएर अन्तिम समयमा निर्णय परिवर्तन गरेका थिए। ह्वाइट हाउसले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको सीएनएनले जनाएको छ।

सीएनएनको अर्को रिपोर्टअनुसार, अक्टोबर २३ मा राष्ट्रिय गुप्तचर निकायका निर्देशक जे क्लेटनले विदेशमन्त्री मार्को रुबियोलाई पठाएको ज्ञापनपत्रमा इरानले अमेरिकी सुरक्षाकर्मीलाई लक्षित गर्ने प्रयास बढाएको दाबी गरिएको थियो। मध्यपूर्वसहित केही अन्य देशमा यस्ता गतिविधिको तयारी अघि बढेको ज्ञापनपत्रमा उल्लेख रहेको रिपोर्टमा जनाइएको छ।

यसैबीच, रोयटर्सको रिपोर्टअनुसार लेबनानमा सक्रिय इरानसमर्थित हिजबुल्लाहले पनि आफ्नो सैन्य क्षमता विस्तारमा ध्यान दिएको छ। पछिल्लो तीन महिनामा संगठनले ड्रोन तथा विस्फोटक सामग्रीको क्षमता बढाउने प्रयास गरेको बताइएको छ।

इजरायली आक्रमणबाट क्षति पुगेका संरचना र कमान्ड प्रणाली पुनः व्यवस्थित गर्नु हिजबुल्लाहका लागि चुनौती रहेको रिपोर्टमा उल्लेख छ।

अमेरिकाले इरानमाथि आक्रमण गर्ने निर्णय गरेमा मध्यपूर्वमा तनाव थप बढ्न सक्ने आकलन गरिएको छ। तर सम्भावित सैन्य कारबाहीको समय र स्वरूपबारे आधिकारिक निर्णय सार्वजनिक भएको छैन।

प्रकाशित मिति: २०८३ कार्तिक १०, मंगलवार ०८:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको