जनकपुरधाम, कात्तिक ८ । ऐतिहासिक तथा धार्मिक नगरी जनकपुरधामलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘सफा गरौँ’ अभियानअन्तर्गत राजदेवी मन्दिर तथा आसपासका क्षेत्रमा सरसफाइ गरिएको छ। नागरिकमा स्वच्छतासम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै सार्वजनिक स्थलको सरसफाइमा सामूहिक सहभागिता बढाउने लक्ष्यसहित अभियानलाई निरन्तरता दिइएको हो।
जनआस्थाको प्रमुख केन्द्र जानकी मन्दिर परिसरबाट सुरु गरिएको अभियानको दोस्रो दिन राजदेवी मन्दिर र तेस्रो दिन मन्दिर आसपासका क्षेत्रमा सरसफाइ गरिएको आयोजकले जनाएको छ। धार्मिक तथा पर्यटकीय स्थललाई सफा राख्दै जनकपुरधामको सौन्दर्य र गरिमा कायम राख्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
कोका–कोला फाउन्डेसनको आर्थिक सहयोग, क्रिएसनको नेतृत्वदायी साझेदारी तथा कार्ड नेपाल (CARD Nepal) को समन्वय र कार्यान्वयनमा अभियान सञ्चालन भइरहेको छ। अभियानको पहिलो दिन ३० जनाभन्दा बढी युवा स्वयंसेवक सरसफाइ कार्यमा सहभागी भएका थिए।
हातमा झाडु, पञ्जा र फोहोर सङ्कलन गर्ने बोरा लिएर अभियानमा जुटेका युवाहरूले जानकी मन्दिर परिसर तथा आसपासका क्षेत्रमा छरिएका फोहोर सङ्कलन गरेका थिए। त्यसपछि अभियानलाई राजदेवी मन्दिर र आसपासका क्षेत्रमा विस्तार गरिएको हो। युवाहरूको सक्रिय सहभागिताले सार्वजनिक स्थल सफा राख्न नागरिक आफैँ अग्रसर हुनुपर्ने सन्देश दिएको छ।
जनकपुरधाम धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको सहर हो। यहाँस्थित जानकी मन्दिर, राजदेवी मन्दिरलगायतका धार्मिक स्थलमा दैनिक रूपमा श्रद्धालु तथा पर्यटकको आवागमन हुने गर्छ। यस्तो महत्त्वपूर्ण सहरको स्वच्छता कायम राख्नु स्थानीय सरकारको मात्र नभई व्यवसायी, नागरिक समाज, धार्मिक संस्था, युवा र सर्वसाधारण सबैको साझा जिम्मेवारी रहेको अभियानसँग सम्बन्धित पक्षको धारणा छ।
‘सहर सफा गर्ने जिम्मेवारी कसैको एक्लो होइन, हामी सबैको साझा दायित्व हो’ भन्ने मूल सन्देशसहित सुरु गरिएको अभियानले फोहोर व्यवस्थापनमा नागरिकको सक्रिय सहभागिता बढाउने अपेक्षा गरिएको छ। सरसफाइलाई एक दिनको औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी दैनिक जीवनको व्यवहारमा उतार्नुपर्ने आवश्यकतासमेत अभियानले औँल्याएको छ।
अभियानमा सहभागी युवाहरूले सार्वजनिक स्थानमा जथाभावी फोहोर नफाल्न, फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्न तथा आफ्नो टोल र समुदायको सरसफाइमा नियमित ध्यान दिन सबै नगरवासीलाई आग्रह गरेका छन्। उनीहरूका अनुसार नागरिकको व्यवहारमा परिवर्तन आउन सकेमा मात्रै सहरलाई दीर्घकालीन रूपमा सफा र व्यवस्थित बनाउन सकिन्छ।
आयोजकका अनुसार आगामी दिनमा अभियानलाई निरन्तरता दिँदै थप युवा, स्थानीयवासी तथा सरोकारवालालाई सहभागी गराउने योजना छ। साथै, जनकपुरधामका अन्य सार्वजनिक तथा धार्मिक स्थलमा पनि सरसफाइसम्बन्धी गतिविधि विस्तार गर्ने लक्ष्य राखिएको छ।
धार्मिक तथा सांस्कृतिक पहिचानका लागि परिचित जनकपुरधामको सौन्दर्य, स्वच्छता र गरिमा कायम राख्न ‘सफा गरौँ’ अभियानले सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ। ‘आउनुहोस्, हातेमालो गरौँ, आफ्नो सहर आफैँ सफा राखौँ’ भन्ने आह्वानसहित अघि बढाइएको यस अभियानको प्रभावकारिता नागरिकको निरन्तर सहभागिता र सार्वजनिक सरसफाइप्रतिको जिम्मेवारीबोधमा निर्भर रहनेछ।





