स्थानीय चुनावलाई ध्यानमा राखेर प्रदेश र जिल्ला अधिवेशनको मिति तोक्छौँ : गगन थापा



काठमाडौं, कात्तिक १० । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पार्टीका प्रदेश तथा जिल्ला अधिवेशनको मिति तय गरिने बताएका छन्।

पोखरामा आयोजित कार्यक्रममा बोल्दै थापाले यसबारे केन्द्रीय समितिको बैठकमा छलफल गरी आवश्यक निर्णय लिइने जानकारी दिए। उनले स्थानीय निर्वाचनको तयारी र पार्टीको संगठनात्मक गतिविधिलाई सँगसँगै अघि बढाउने बताए।

थापाले पार्टीको अधिवेशनबाट नेतृत्व चयन गर्नु मात्र पर्याप्त नभई अधिवेशनले गरेका निर्णय कार्यान्वयन गर्नु पनि महत्त्वपूर्ण रहेको उल्लेख गरे।

उनले पार्टीको आन्तरिक निर्वाचनमा भएको प्रतिस्पर्धालाई जित्नेले सबै पाउने र हार्नेले सबै गुमाउने प्रक्रियाका रूपमा लिन नहुने बताए। प्रतिस्पर्धामा सहभागी भएका सबै नेताको योग्यता, अनुभव र क्षमतालाई पार्टीको हितमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो।

‘पार्टीभित्र सबैले आफ्नो भूमिका र स्थान पाउनुपर्छ,’ थापाले भने, ‘प्रतिस्पर्धाका कारण जिम्मेवारीबाट बाहिरिएका योग्य साथीहरूलाई समेत समेटेर अघि बढ्नुपर्नेछ।’

उनले पार्टीभित्रको तिक्तता, कटुता र असहिष्णुता अन्त्य गरी आपसी सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिए। अधिवेशनमा प्रतिस्पर्धा भए पनि त्यसकै कारण नेताहरूबीच सहकार्य हुन नसक्ने अवस्था अन्त्य गर्नुपर्ने उनले बताए।

थापाले वडादेखि केन्द्रसम्म संस्थागत रूपमा गुट निर्माण हुने परिपाटी अन्त्य गर्ने प्रयास गरिएको पनि उल्लेख गरे।

उनका अनुसार पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट प्राप्त अनुभव र सिकाइलाई संगठन सुदृढीकरणमा उपयोग गर्दै सबै पक्षलाई समेटेर अघि बढ्न आवश्यक छ।

प्रकाशित मिति: २०८३ कार्तिक १०, मंगलवार १३:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको