जनकपुरधाम, मंसिर ४ । मिथिलाको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी जनकपुरधाममा औपचारिक रूपमा सुरु भएको छ। साताव्यापी रूपमा मनाइने महोत्सवलाई भव्य, व्यवस्थित र सुरक्षित बनाउन जानकी मन्दिरले उत्तराधिकारी महन्थ राम रोशन दासको नेतृत्वमा मुल समिति तथा उपसमिति गठन गरी तयारी अघि बढाएको हो।
बिहीबार जानकी मन्दिरमा महन्थ राम तपेश्वर दासको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले मंसिर २३ गते देखी २९ गते सम्म हुने साताव्यापी कार्यक्रमको लागि जिम्मेवारी बाँडफाड गरेको हो ।
बैठकले शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्थापन, रंगभूमि मैदान तथा प्रवेशद्वार व्यवस्थापन, पण्डाल निर्माण, ट्राफिक व्यवस्थापन, खानेपानी र विद्युत् आपूर्तिलगायतका जिम्मेवारी छुट्टाछुट्टै समिति तथा उपसमितिलाई दिने निर्णय गरेको हो।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले विगतका वर्षभन्दा यस वर्षको महोत्सवलाई थप व्यवस्थित र भव्य बनाउने लक्ष्यसहित तयारी सुरु गरिएको बताए। उनले महोत्सव सफल बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सरकारी कार्यालयसँग समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे।
त्रेतायुगमा भगवान् राम र माता सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव मनाउने गरिन्छ। यस अवसरमा नेपालका विभिन्न जिल्ला तथा भारतको अयोध्यासहित विभिन्न स्थानबाट ठूलो संख्यामा साधुसन्त, श्रद्धालु र पर्यटक जनकपुरधाम आउने गर्छन्।
श्रद्धालुको बढ्दो चापलाई मध्यनजर गर्दै उनीहरूको स्वागत, सत्कार, आवास, सुरक्षा तथा आवागमनलाई सहज बनाउने विषयमा बैठकमा विशेष छलफल भएको थियो। सहभागीहरूले महोत्सव अवधिभर सवारी आवागमन, सरसफाइ, खानेपानी र विद्युत् आपूर्तिलाई व्यवस्थित बनाउन सम्बन्धित निकायले समयमै आवश्यक तयारी गर्नुपर्नेमा जोड दिएका थिए।
बैठकमा धार्मिक संघसंस्था, नागरिक समाज, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, सञ्चार क्षेत्र तथा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरूको सहभागिता थियो।
विवाहपञ्चमी महोत्सव धार्मिक उत्सवमा मात्र सीमित नभई मिथिलाको कला, संस्कृति, परम्परा र नेपाल–भारतबीचको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्बन्धको प्रतीकका रूपमा समेत परिचित छ। त्यसैले महोत्सवलाई सफल बनाउन सबै सरोकारवाला पक्षको साझा जिम्मेवारी रहने सहभागीहरूको भनाइ थियो।
महोत्सवको तयारी प्रारम्भिक चरणबाटै अघि बढेसँगै जानकी मन्दिरले सम्बन्धित निकायसँग समन्वय र सहकार्यलाई तीव्रता दिएको छ। यस वर्ष पनि विवाहपञ्चमीमा ठूलो संख्यामा श्रद्धालु जनकपुरधाम आउने अपेक्षा गरिएको छ।



