अंजली राउत
जनकपुरधाम, मंसिर ८ । जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित रामजानकी स्टेडियम आसपासको साढे पाँच कठ्ठा जग्गासम्बन्धी विवादमा एक परिवारले विगत एक दशकदेखि न्यायका लागि संघर्ष गरिरहेको जनाएको छ। ३० लाख रुपैयाँ ऋणका लागि धितो राखेको जग्गा अर्कै व्यक्तिलाई बिक्री गरिएको भन्दै पीडित परिवारले निष्पक्ष छानबिन र सम्पत्ति फिर्ताको माग गरेको छ।
पीडित पक्षका अनुसार २०७४ सालमा रजौल निवासी सुनिता देवी साहसँग व्यापार गर्ने प्रयोजनका लागि ३० लाख रुपैयाँ ऋण लिइएको थियो। उक्त ऋणबापत तीन रुपैयाँ ब्याजदरमा साढे पाँच कठ्ठा जग्गा धितो राखेर कागजसमेत गरिएको उनीहरूको भनाइ छ।
तर, ऋण लिएको एक वर्षपछि नै सुनिता देवी साहले धितोमा राखिएको जग्गा जनकपुरधामका शाह ज्वेलर्स सञ्चालक शिवशंकर शाहलाई बिक्री गरेको पीडित पक्षको आरोप छ। साँवा र ब्याजसहित सम्पूर्ण रकम फिर्ता गरेर जग्गा लिन खोज्दा सुनिताले शिवशंकर शाहसँग कुरा गर्न भन्दै जिम्मेवारी पन्छाएको उनीहरूको दाबी छ।
पीडित परिवारले शिवशंकर शाहसँग जग्गा फिर्ताको माग गर्दा केही लाख रुपैयाँ लिएर विवाद टुङ्ग्याउन दबाब दिने गरेको आरोप लगाएको छ। उनीहरूका अनुसार हाल उक्त जग्गाको बजार मूल्य करिब ८ करोड रुपैयाँ पुगेको छ। करोडौँ मूल्यको जग्गा फिर्ता माग्दा सानो रकम लिएर विवाद अन्त्य गर्न प्रस्ताव गरिनु आफूहरूमाथिको अन्याय भएको उनीहरूको भनाइ छ।
यस प्रकरणमा सुनिता देवी साह र शिवशंकर शाहबीच मिलेमतो गरी जग्गा हडप्ने योजना बनाइएको पीडित पक्षले आरोपसमेत लगाएको छ। यद्यपि, यी आरोपबारे सम्बन्धित व्यक्तिहरूको प्रतिक्रिया तथा स्वतन्त्र पुष्टि हुन बाँकी छ।
जग्गा विवादसम्बन्धी मुद्दा धनुषा जिल्ला अदालत हुँदै उच्च अदालतसम्म पुगेको पीडित परिवारले जनाएको छ। अदालतको फैसलामा आर्थिक चलखेल भएको र विपक्षीले प्रभाव प्रयोग गरेको उनीहरूको आरोप छ। आर्थिक अवस्था कमजोर भएकाले सर्वोच्च अदालतसम्म पुगेर न्याय खोज्नसमेत कठिन भएको परिवारको गुनासो छ।
पीडित पक्षले लामो समयदेखि विवाद समाधान नभएका कारण परिवारका सदस्यहरू मानसिक तनावमा रहेको जनाएको छ। उनीहरूका अनुसार करिब पाँच–छ वर्षअघि यही विवादका कारण आफूहरूले गम्भीर मानसिक संकटसमेत सामना गर्नुपरेको थियो।
एक दशकदेखि न्यायको प्रतीक्षामा रहेको परिवारले सरकार, प्रशासन तथा सम्बन्धित न्यायिक निकायसँग घटनाको निष्पक्ष छानबिन गरी आफ्नो जग्गासम्बन्धी विवाद समाधान गर्न र कानुनअनुसार न्याय दिलाउन माग गरेको छ। माग सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत उनीहरूले दिएका छन्।
पीडित पक्षले लगाएका आरोपबारे सुनिता देवी साह, शिवशंकर शाह तथा सम्बन्धित निकायको आधिकारिक प्रतिक्रिया प्राप्त हुन बाँकी छ।



