किर्ते लालपुर्जा बनाएको आरोपमा फरार राणालाई पक्राउ गर्न प्रहरीको अनाकानी



जनकपुरधाम । जनकचोकभन्दा उत्तरतर्फ अवस्थित करोडौं मूल्य बराबरको २ कट्ठा ५ धुर ३ कनमा जग्गाको किर्ते लालपुर्जा बनाएको आरोप लागेका प्रकाशजंंग राणालाई पक्राउ गर्न प्रहरीले अनाकानी गरिरहेका छन् । जग्गाधनी देशपालसिंह हमालले सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपनि प्रहरी उनलाई नियन्त्रणमा लिन चाहेका छैनन् ।

उनी जनकपुरधामको विभिन्न चोकहरु खुल्लम खुल्ला चिया पसलमा चिया खाएको तथा गफ गरी रहेको सर्वसाधारणले हेरेपनि उनलाई नियन्त्रणमा लिन प्रहरीले तादरुकता नदेखाएपछि अपराधिक गतिविधिमा संलग्न हुनेहरुको मनोवल दिनप्रतिदिन बढ्दै गएको छ ।



जिल्ला प्रहरी कार्यालय धनुषामा भदौ ३१ गते दर्ता भएको सरकारी कागज किर्ते र ठगीसम्बन्धी उजुरी परेको थियो । ‘मेरी आमाको नाममा रहेको १७० नम्बर कित्ताको जग्गा प्रकाशजङ्ग राणाले आफ्नो नाममा दर्ता गराई गुठी संस्थानमा उक्त जग्गाको मालपोत पनि आफ्नै नामबाट कटाएको देखिन्छ‚’ जाहेरवाला हमालले भने । तर‚ मालपोत कार्यालयको प्लटबुकमा भने जग्गाधनी महलमा अझै पनि गीता रानी राणाकै नाम उल्लेख रहेको छ ।

‘प्लटबूकमा मेरी आमाको नाम हुनु अनि गुठी संस्थानमा नक्कली लालपुर्जाको आधारमा मालपोत तिरेको रसिद काट्नु सरकारी कागज नक्कल गर्नुभएन ? ’ हमालले भने ।

जनकचोकको ठिक दक्षिणमा अवस्थित उक्त जग्गाको न्यूनतम मूल्य प्रतिधुर ४० देखि ५० लाख रुपैयाँसम्म पर्छ । यसरी करिब २३ करोड रुपैयाँ बराबरको ४५ धुर ३ कनमा जग्गा किर्ते कागजको आधारमा आफ्नो नाममा दर्ता गराएको आरोप देशपालसिंह हमालको छ ।

जिल्ला प्रहरी कार्यालयमा उजुरी परेयता राणा भने केही दिन सम्पर्कविहीन भएका थिए तर प्रहरी प्रशासनकै मिलिमतोमा अहिले खुलेआम घुमफिर गर्नुका साथै मुद्दा समेत कमजोर पार्ने चलखेलमा दिन रात लागेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले नापी र मालपोत कार्यालयवाट आवश्यक कागजात आएपछि मुद्दा अगाडि बढ्ने बताउँदै मुद्दालाई कमजोर पार्ने चलखेलमा लागेका छन् । जवकी मालपोत र नापी कार्यालयले सम्वन्धीत सवै जवाफ जिल्ला प्रहरी कार्यालयलाई दिइ सकेको छ ।

राणाले काशिशंकर प्रसाद साह नाम गरेको व्यक्तिवाट ७ धुर ३ कनमा र रामसती शर्मा संग ७ धुर जग्गा बेचेको पाइएको छ । कीर्ते लालपूर्जा बनाई बेचेका जग्गा यि दुवै जनाको नाममा रहेको छ । यस सम्बन्धमा प्रतिक्रिया लिन राणालाई पटकपटक सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

प्रकाशित मिति: २०७९ कार्तिक २६, शनिबार १८:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको