स्थानीय चुनाव गैरदलीय बनाउन माग गर्दै निर्वाचन आयोगलाई उज्यालो नेपालको ज्ञापन



काठमाडौं, कात्तिक ११ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय चुनाव गैरदलीय प्रणालीबाट गर्न र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ।

पार्टी अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा बुधबार आयोग पुगेको टोलीले प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा स्थानीय तहको निर्वाचनलाई दलीय स्वार्थ र शक्ति प्रदर्शनबाट मुक्त गरी नागरिकको सेवा, सुशासन र विकासमा केन्द्रित गर्न गैरदलीय निर्वाचन प्रणाली अपनाउनुपर्ने उल्लेख छ।

स्थानीय तहका उम्मेदवार छनोट गर्दा दलगत प्रभावभन्दा योग्यता, इमानदारी, कार्यक्षमता, कार्ययोजना र नागरिकप्रतिको जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने अध्यक्ष घिसिङले बताए।

पार्टीले दलीय प्रतिस्पर्धाका कारण स्थानीय मुद्दा ओझेलमा पर्ने, राजनीतिक ध्रुवीकरण बढ्ने तथा निर्वाचन खर्च र आर्थिक चलखेलको जोखिम बढ्न सक्ने जनाएको छ।

त्यस्तै, वैदेशिक रोजगारी, अध्ययन, व्यवसायलगायत प्रयोजनले विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन पनि पार्टीले माग गरेको छ।

विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी तथा प्राविधिक व्यवस्था गर्न आयोगको ध्यानाकर्षण गराइएको पार्टीले जनाएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक ११, बुधवार १८:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको