काठमाडौँ । उपत्यकामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा सहरी क्षेत्रमा भन्दा काँठ क्षेत्रमा मतदाताको बढी उत्साह देखिएको छ । काठमाडौँ महानगरपालिकामा भन्दा बाहिरका नगरपालिकामा मतदाताको बढी भीड देखिन्छ । सहरी क्षेत्रका धेरै मतदानस्थलमा खटिएका कर्मचारी मतदाता कुरेर बस्ने बाध्य भएका छन् ।
काँठ क्षेत्रमा पनि यसअघिको स्थानीय तह निर्वाचनमा जस्तो मतदाताको उत्साह नदेखिए पनि सहरी क्षेत्रको तुलनामा उत्साहपूर्ण सहभागिता देखिएको काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत मन्दिरा शाहीले राससलाई जानकारी दिनुभयो ।
“यस क्षेत्रको सहरी भेग काठमाडौँ महानगरपालिका–६ को सरस्वतीनगर र बौद्ध क्षेत्रमा रहेको मतदान केन्द्रभन्दा गोकर्णेश्वर नगरपालिका- ३ स्थित तारेभीर क्षेत्रका मतदातामा उत्साह देखिएको छ”, उहाँले भन्नुभयो, “गोकर्णेश्वर नगरपालिकाकै बढी जनघनत्व भएका जोरपाटी, गोकर्णभन्दा कम जनघनत्व भएको सुन्दरीजल, कागेश्वरी क्षेत्रमा मतदाता उत्साहपूर्वक मतदानमा सहभागी भएका छन् ।
” यस निर्वाचन क्षेत्रको काँठ भेगमा दिउँसो २ बजेसम्म करिब ५० प्रतिशत हाराहारीमा मतदान भएको मतदान अधिकृत शाहीले जानकारी दिएको निर्वाचन क्षेत्र अधिकृतको कार्यालयले जनाएको छ । त्यही समयभित्रमा सहरी क्षेत्रमा भने करिब ४० प्रतिशत हाराहारीमात्र मतदान भएको छ । मतदानस्थलमा भेटिएका मतदातामा उत्साह भने धेरै देखिएको छैन । स्थानीय तह निर्वाचनमा जति पनि उत्साह मतदातामा नदेखिएको गोकर्णेश्वर नगरपालिका-१ का स्थानीयवासी रोशन पोखरेलले बताउनुभयो ।
स्थानीय तह निर्वाचनमा स्थानीयस्तरकै धेरै उम्मेदवार हुने भएकाले धेरै मतदाताको सहभागिता रहने गरेको थियो । राजनीतिक दल र तीनै तहमा यसअघि निर्वाचित जनप्रतिनिधिको गतिविधिले पनि मतदातामा मतदान गर्न जाने जाँगर नदेखिएको उहाँको भनाइ छ । राजनीतिक दल र तिनका प्रतिनिधिले निर्वाचनमा वाचा अनुसार काम नगर्ने, विधिभन्दा पनि राजनीतिक रङका आधारमा काम गर्ने, विभिन्न विवादास्पद गतिविधिमा जनप्रतिनिधि मुछिने गरेकाले पनि निर्वाचनप्रति मतदाताको उत्साह बढ्न नसकेको हो ।
काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं. २ मा पनि सहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमै मतदाताको उत्साह बढी देखिन्छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकासँग सीमा जोडिएको यस क्षेत्रको शङ्खरापुर नगरपालिकाका वडा नं. १, २, ३ र ४ मा बढी मतदाताको उत्साह देखिएको जनाइएको छ । काठमाडौँ जिल्ला क्षेत्र नं २ मा पर्ने महानगरपालिकाका–९ र ३२ मा मतदाताको कम उत्साह छ । वडा नं ९ का मतदाता सुरेश नेपाल राजनीतिक दलले यो क्षेत्रलाई प्रयोगशालाका रुपमा विकास गर्न खोजेकाले पनि मतदातामा उत्साह कम हुँदै गएको बताउनुहुन्छ ।
यो क्षेत्रमा ठूला दलले पटक–पटक बाहिरका उम्मेदवार उठाउने गरेका छन् । ठूला नेताले चुनाव लड्ने र जितेपछि अरु क्षेत्रमा जाने गरेकाले मतदाता रुष्ट हुने गरेका छन् । काठमाडौँ-३ मा सोमबार बिहानमात्र मतगणना हुने काठमाडौँ-३ मा आज निर्वाचन सकिएपछि सबै प्रक्रिया पूरा गरेर सोमबार बिहान ७ बजेमात्र मतगणना सुरु गर्ने सहमति सर्वदलीय बैठकमा भएको निर्वाचन अधिकृत शाहीले जानकारी दिनुभयो ।
सोमबार बिहान ७ बजेपछि मतगणना नसकिएसम्म निरन्तर गणना भइरहने उहाँले सुनाउनुभयो । विगतका संसदीय निर्वाचनमा सबै क्षेत्रको कार्यालय राष्ट्रियसभा गृहमा राख्ने गरिएको थियो । यस वर्ष सबै क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय छुट्टाछुट्टै राखिएको छ । मतगणना पनि सबै क्षेत्रमा गरिने छ । काठमाडौँ–३ को मतगणना यसपटक चामुण्डा माध्यमिक विद्यालयमा गर्ने गरी तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतगणनाका लागि सुरक्षालगायत सबै तयारी पूरा भएको छ । एक हजार मतगणना सकिएपछि मतसङ्ख्याको जानकारी माइकिङमार्फत् दिइने जानकारी पनि निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । समानुपातिकको पनि मतगणना सकेरमात्र मत यो क्षेत्रको निर्वाचनको प्रतिवेदन बुझाइने जनाइएको छ ।

प्रकाशित मिति: २०७९ मंसिर ४, आईतवार १७:०५







