
काठमाण्डु । आर्थिक वर्ष २०७०÷७१ देखि आर्थिक वर्ष २०७५÷७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले यही २०७९ फागुन मसान्तभित्र कर बुझाएमा सो अवधिको जरिवाना छुट हुने भएको छ ।
यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) काठमाडौंले आज सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । कार्यालयले विगत आर्थिक वर्षहरुदेखि कर तिर्न बाँकी भएका सवारी धनीहरुलाई कर तथा नवीकरण समयमै भुक्तानी गरेर लाभ लिन आग्रहसमेत गरेको छ ।



प्रयोग नभएका सवारी साधनहरु चालु आर्थिक वर्षसम्मको कर नवीकरण तथा जरिवाना रकम भुक्तानी गरी विधिवत् लगतकट्टा गर्न पनि विभागले भनेको छ । फिक प्रहरीको कारबाहीमा परी प्रहरी कार्यालयमा रहेमा सवारी साधनका धनीहरुलाई पनि कर, नवीकरण तथा दण्ड दस्तुर तिरेर सवारी साधन जिम्मा लिन आग्रह गरिएको छ ।
सवारी कर भुक्तानी नगरेका सवारी साधन एवं सवारी धनीहरुको लगत तयार गरी सम्बिन्धित स्थानीय तहसँगको सहकार्यमा कर संकलन कार्यलाई कडाइका साथ लागू गर्न गइरहेको जानकारी पनि विभागले दिएको छ । कर, नवीकरण तथा जरिवाना रकमहरु सरकारी बक्यौता सरह असुलउपर गरिने भएकाले त्यसबाट कुनै पनि बहानामा उन्मुक्ति नपाइने विभागले स्पष्ट पारेको छ ।