
महेन्द्रनगर (धनुषा) । धनुषाका स्थानीय तहका प्रमुख–उपप्रमुखहरूले पालिकाको वार्षिक योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आइतबार फ्री मिडिया नेटवर्क धनुषाको आयोजना तथा नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको संयोजनमा आयोजित ‘स्थानीय तहको योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तरक्रियामा उहाँहरूले समावेशी योजना तर्जुमा प्रक्रियामा सञ्चार क्षेत्रको खबरदारी आवश्यक रहेको बताउनुभयो ।



कार्यक्रममा सहभागी लक्ष्मिनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले आगामी आर्थिक वर्षको योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउनका लागि योजनाबद्धरूपमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले सञ्चार क्षेत्रलाई पनि योजना प्रक्रिया समावेशी बनाउनका लागि समाचार प्रकाशन तथा प्रसारण गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष मनिका झाले स्थानीय तहको योजना निर्माण प्रक्रियालाई समावेशी बनाउनका लागि सञ्चार क्षेत्रले सहयोग गर्ने बताउनुभयो ।