मलंगवा । जनप्रतिनिधिबीचको विवादका कारण सर्लाहीको छ वटा पालिका बजेटविहीन बनेका छन् । यहाँको २० मध्ये १९ वटा पालिकाले गाउँ तथा नगर सभाको उद्घाटन सत्र सम्पन्न गरे पनि बजेट पारित गर्न सकेका छैनन् ।
चरम विवादमा फसेको हरिपूर्वा नगरपालिकाले नगर सभाको उद्घाटन सत्र नै गर्न सकेन। उद्घाटन सभा गरेका बाँकी १९ वटा पालिकामध्ये हरिवन नगरपालिका, चन्द्रनगर गाउँपालिका, रामनगर गाउँपालिका, बलरा नगरपालिका र बसबरिया गाउँपालिकाले जनप्रतिनिधिबीचमै टकराव बढ्दा बजेट पारित गर्न नसकेका छन् ।
बसबरिया गाउँपालिकामा गाउँ सभाको उद्घाटन सत्रमा झडप नै हुन पुगेको थियो । यहाँ एउटै पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच टकराव बढ्दा बजेट ल्याउन नसकिएको छ । लामो समय तालाबन्दीपछि आर्थिक वर्षको अन्तिममा आएर दुई साताअघि मात्रै तालाबन्दी खुलेको हरिपूर्वा नगरपालिकाले जनप्रतिनिधिबीच टकराव जारी रहँदा नगर सभा प्रारम्भ नै गर्न सकेको छैन।
यहाँ अघिल्ला जनप्रतिनिधिको कार्यकाल पाँच वर्षसम्म विवादमै कोठा लिएर वितेको थियो । नगर प्रमुख विनोदकुमार साह एकलौटी ढङ्गले चलेको भन्दै अन्य जनप्रतिनिधि र राजनीतिक दलका नेता आन्दोलित हुँदा हरिपूर्वामा बजेटबारे अन्योलता देखिएको छ ।
अनेक मिथ्या आरोप लगाएर कामै गर्न नदिइ नगरपालिकालाई असफल बनाउने प्रयत्न भइरहेको गुनासो नगर प्रमुख साहले बताए।
हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) ले असन्तुष्ट अन्य जनप्रतिनिधिलाई सहमतिमा ल्याइ नगर सभाको उद्घाटन सत्र सम्पन्न गरे पनि बजेटमाथिको छलफल प्रारम्भ गराइ पारित गराउन सकेका छैनन् । असन्तुष्ट वडाध्यक्ष र बहुमत कार्यपालिका सदस्यले गएको बुधबार नगरपालिका कार्यालयमा पत्रकारसम्मेलन आयोजना गरी आफ्नो धारणा सार्वजनिक गर्ने अन्तिम तयारी गरेकोमा प्रमुख बुढाथोकीले नगरभित्रका शीर्ष नेतासँग समन्वय गरी असन्तुष्टि बाहिर ल्याउनबाट रोकेका थिए ।बुढाथोकीले जतिसक्दो चाँडो बजेट ल्याउने गरी समन्वय गरिरहेको दाबी गरे।
चन्द्रनगर र बसबरिया गाउँपालिकामा उपाध्यक्षसहित बहुमत सदस्य विरोधमा हुँदा बजेट पारित हुन सकेको छैन । पालिकाका प्रमुखको नेतृत्वमा युवा रहेको बलरा नगरपालिका र रामनगर गाउँपालिकाले पनि सहमति जुटाउन नसक्दा बजेट पारित गर्न नसकेको अवस्था रहेको देखिएको छ । यसरी जनप्रतिनिधिबीचको मनमुटावले पालिकाको बजेटसहित अन्य काम कारबाही प्रभावित भएको गुनासो थानीयवासीले गर्दै
आइरहेका छन् । स्थानीय वासिन्दाका अनुसार प्रत्येक पालिकामा मुख्य गरी बजेट बाँडफाँटकै विषयमा जनप्रतिनिधिबीच विवाद देखिने गरेको छ ।






