योजनाकारबारे ध्यानाकर्षण गराउन समिति गठन



राकेश यादव
गौर । गौर हत्याकाण्डको योजनाकार र त्यस पछाडिको घटना क्रमलाई ध्यानाकर्षण गराउनको लागि २१ सदस्यीय सर्वदलीय/सर्वपक्षीय संघर्ष समिति गठन गरिएको छ ।

उपचुनावको बेला निर्वाचन आयोगमा दर्ता भएको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले ०६३ साल चैत ७ गते गौर राइस मिलको मैदानमा भएको झड़पमा मृत्यु भएको २७ जना माओवादी कार्यकर्ताको हत्याको आरोप लागेका माथि कारबाही गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेपछि ६ राजनीतिक दलका जिल्ला स्तरीय नेताको आइतबार बसेको सर्वदलीय बैठकबाट पूर्व प्रदेश सांसद राम किशोर यादवको संयोजकत्वमा २१ सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।



संघर्ष समितिले गौर राइस मिलको मैदानमा तत्कालीन मधेशी जनाधिकार फोरम नेपालले मधेश आन्दोलनको बारेमा जानकारी गराउन आयोजना गरिएको आम सभालाई विथोल्नका लागि नेकपा

माओवादीले बलपूर्वक कार्यक्रम गरी दोहोरो झड़प गराउन बनाएको योजना बारे जानकारी गराउन साउन ९ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको संघर्ष समितिका प्रवक्ता रामेश्वर प्रसाद यादवले जानकारी दिए ।

गठन गरिएको संघर्ष समितिमा सुनील कुमार यादव सभापति नेपाली कांग्रेस , रामचन्द्र गिरी सचिव नेपाली कांग्रेस , वीरेन्द्र पाण्डेय प्रदेश सदस्य नेकपा माओवादी केन्द्र , श्याम बिहारी यादव जिल्ला अध्यक्ष जसपा , योगेन्द्र यादव जसपा , अशोक कुमारी सिंह केन्द्रीय सदस्य जनमत पार्टी , कमल प्रसाद यादव जिल्ला अध्यक्ष नेकपा एस, अवधेश प्रसाद यादव नेकपा एकीकृत समाजवादी ,वृज किशोर यादव नेकपा एकीकृत समाजवादी ,रेवन्त झा नेकपा एस , रामेश्वर प्रसाद यादव , जसपा, बाबुलाल साह कानु पूर्व प्रदेश सांसद लोसपा,अनिल कुमार सिंह लोसपा , शेष जमशैद लोसपा , अमर प्रसाद यादव , मोहन कुमार यादव नगर सभापति नेपाली कांग्रेस गौर , जगरनाथ प्रसाद केसरी नागरिक समाज , धर्मेन्द्र प्रसाद यादव नगर अध्यक्षनेपली कांग्रेस राजदेवी नपा , शंकर राय यादव रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गौर घटना गराउने मुख्य योजनाकार आम जनता पार्टीको केन्द्रीय अध्यक्ष प्रभु साह रहेको ठहर संघर्ष समितिको रहेको छ । मधेशमा बसोवास गर्ने आदिवासी ,जनजाति ,दलित ,मुस्लिम ,मधेशी ,थारू ,अल्पसंख्यक ,पिछडिएको बर्ग समुदायको अधिकारको लागि फोरम नेपालले घोषणा गरेको मधेश आन्दोलनलाई कमजोर पर्ने योजना अनुरूप माओवादीले नेपालगंजमा फोरमको कार्यक्रममा हमला गरेको थियो ।

माओवादीका वर्गीय संगठन मधेशी मुक्ति मोर्चाको संयोजकको रुपमा रहेका प्रभु साह र जनसरकार प्रमुखको रुपमा रहेका विन्देश्वर यादवले घटना हुनु भन्दा ५ दिन पहिला गौरमा पूर्व नगरप्रमुख अजय कुमार गुप्ता , बाबुलाल साह , शम्भु साहलगायतका व्यक्तिमाथि आक्रमण गरिएको थियो । फोरम नेपालको कार्यक्रम तय भएको दिन आफ्नो कार्यक्रम राखेर निहु खोजने , व्यापारी ,कर्मचारीलाई धम्क्याउने गरेको कार्यबाट आक्रांत भएको सर्वसाधारणले गौर राइस मिलको मैदानमा माओवादी कार्यकर्तामाथि आक्रमण गरेका थिए ।

२०६३ साल चैत्र ६ गते बाहिर जिल्लाबाट माओवादी कार्यकर्ता ल्याएर रामजानकी धर्मशाला गौरमा राखेका प्रभु साहलाई स्थानीय प्रशासनले पहिलादेखि फोरमको कार्यक्रम तय रहेकोले सो ठाउँमा कार्यक्रम आयोजना नगर्नु आग्रह गर्दा पनि बलपूर्वक कार्यक्रम गरेको र फोरमको जुलुसमाथि आक्रमण गर्न लगाएको कारण गौर राइस मिलको घटना घटेको पूर्व प्रदेश सांसद बाबुलाल साहले बताए । गौर घटना राजनीतिक विषय र अत्याचार विरुद्धको भएकोले त्यसलाई उचालेर पुनः जिल्लामा द्वन्द्व गराउन प्रभु साहको योजना भएको आरोप साहको रहेको छ ।

प्रकाशित मिति: २०८० श्रावण ८, सोमबार ०८:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको