
काठमाडौँ । स्वास्थमन्त्री मोहनबहादुर बस्नेतले प्रकृतिले प्रचुर सम्भावना दिए पनि देशमा त्यसअनुरुपको आयुर्वेदिक चिकित्सा पद्धति विकास हुन नसकेको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय परिसरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको आयोजनामा आजदेखि सुरु भएको पञ्चकर्म चिकित्सासम्बन्धी आधारभूत तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आयुर्वेदको विकास गर्नका लागि ठोस कार्ययोजना ल्याउनुपर्ने बताउनुभयो ।
“आयुर्वेदको विकासका लागि यस्तो गर्न सकिन्छ, उस्तो गर्न सकिन्छ भनेर भएन । मन्त्रालय विश्वस्त हुने गरी ठोस कार्ययोजना लिएर आउनुपर्यो । त्यसमा मेरो सहयोग रहन्छ”, उहाँले भन्नुभयो । जति आयुर्वेदको विकास भयो त्यति नै नेपाली जनताका लागि राम्रो हुनेसमेत बताउँदै मन्त्री बस्नेतले ‘साइड इफेक्ट’ नहुने आयुर्वेदिक औषधिको पहुँच बढाउनुपर्नेमा जोड दिनुभयो ।



आयुर्वेदिक महत्त्व भएका जडीबुटीलाई खोस्टोको भाउमा विदेशीलाई बेच्ने तर पछि त्यही जडीबुटी औषधि बनेपछि अमृतको भाउमा किन्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि पनि कार्ययोजना बनाएर अगाडि बढ्नुको विकल्पन नभएको उहाँले स्पष्ट पार्नुभयो ।
मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा व्याप्त बेथितिको अन्त्य गर्न आफू लागिपरेको बताउँदै पहुँचको भरमा दशकौँदेखि राजधानी बाहिर जान नचाहेका चिकित्सक र स्वास्थ्यकर्मीलाई आफूले काज फिर्ता गरेर दरबन्दी भएकै ठाउँमा पठाएको समेत बताउनुभयो । स्वास्थ्य बीमामा बेतिथि बढेको सबैतिरबाट गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको जानकारी दिँदै उहाँले स्पष्टीकरण सोधेपछि अगाडि मिति राखेर अस्पताललाई दिनुपर्ने सोध भर्ना दिएको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा रामआधार यादवले औषधिविहीन थेरापीको रुपमा पञ्चकर्म चिकित्सालाई लिइने गरेको बताउँदै पञ्चकर्मले दुखाइसम्बन्धी धेरैजसो रोगको उपचार गर्न सकिने दाबी गर्नुभयो । तालिम केन्द्रले प्रदान गरिरहेको सेवाको विषयमा जानकारी गराउँदै उहाँले उपचार, अनुसन्धान र तालिममार्फत केन्द्रले आयुर्वेदको विकासमा लागिपरेको बताउनुभयो ।
शरीरको आवधिक शोधन रोग निवारणका लागिसमेत आवश्यक मानिने पञ्चकर्म चिकित्सामा बमन ९बान्ता०, विरेचन ९मल उत्सर्जन०, बस्ती ९मलद्वारबाट औषधि प्रक्षेपण, नस्य ९नाकबाट औाषधि प्रक्षेपण० र रक्त मोक्षण ९शुद्धीकरण० गरी पाँच वटा विधि प्रयोग गरिन्छ । यसबाट शरीरमा विकारयुक्त तत्व बाहिर पठाएर उपचार गर्ने विधिलाई आयुर्वेदमा पञ्च किकित्सा भनिएको हो । तालिममा देशका विभिन्न प्रदेशका आयुर्वेद क्षेत्रमा कार्यरत २० जना सातौँ तहका स्वास्थ्यकर्मीको सहभागिता छ ।–––