जनकपुरधाम, बैशाख १७ । बलवा नगरपालिका महोत्तरीमा महिलाको स्वास्थ्यलाई लक्षित गर्दै सञ्चालन गरिएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा उल्लेखनीय सहभागिता देखिएको छ। बलवा नगरपालिकाको आयोजना तथा सामुदायिक सेवा प्रतिष्ठान, भक्तपुर (गठ्ठाघर) को प्राविधिक सहयोगमा स्वास्थ्य चौकी बनौटामा सम्पन्न उक्त शिविरमा कुल ५६४ जना महिलाले सेवा लिएका छन्।
शिविरमा महिलाहरूको प्रजनन स्वास्थ्य, विभिन्न किसिमका रुग्णता, स्त्रीरोग सम्बन्धी समस्या तथा आवश्यक परेमा शल्यक्रिया ९अपरेशन० का लागि छनौट गर्ने कार्य गरिएको थियो। ग्रामीण भेगका महिलाहरूलाई लक्षित गरी आयोजना गरिएको यो कार्यक्रमले विशेषगरी आर्थिक रूपमा कमजोर र स्वास्थ्य सेवाबाट टाढा रहेका महिलाहरूलाई प्रत्यक्ष लाभ पुर्याएको आयोजकले जनाएको छ। शिविरमा सहभागी महिलाहरूको निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण तथा आवश्यक परीक्षणहरू गरिएको थियो। चिकित्सकहरूको टोलीले स्त्रीरोग, पाठेघर सम्बन्धी समस्या, संक्रमण, र अन्य दीर्घकालीन स्वास्थ्य समस्याको पहिचान गरी उपचारको प्रक्रिया अघि बढाएको थियो। गम्भीर प्रकृतिका बिरामीहरूलाई थप उपचारका लागि छनौट समेत गरिएको छ।
कार्यक्रमको उद्घाटन तथा समापन अवसरमा बोल्दै बलवा नगरपालिकाका मेयर राम विजय महतो ले महिला स्वास्थ्यलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताएका छन्। उनले भने, “समाजको समग्र विकासका लागि महिलाको स्वास्थ्य सुदृढ हुनु अत्यन्त आवश्यक छ। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न यस्ता शिविरहरू नियमित रूपमा सञ्चालन गरिनेछ।” मेयर महतोले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै लैजाने र आगामी दिनमा अझ व्यवस्थित तथा प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सामुदायिक सेवा प्रतिष्ठान, भक्तपुरप्रति आभार प्रकट गर्दै यस्तो सहकार्यले स्थानीय तहमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन मद्दत पुगेको उल्लेख गरे।
स्थानीय महिलाहरूले पनि शिविरप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। उनीहरूले घर नजिकै निःशुल्क रूपमा विशेषज्ञ चिकित्सकबाट सेवा पाउनु निकै सहज र लाभदायक भएको बताएका छन्। धेरै महिलाहरूले पहिलो पटक विस्तृत स्वास्थ्य परीक्षण गराउने अवसर पाएको बताएका छन्। सामुदायिक सेवा प्रतिष्ठानका प्राविधिक टोलीले पनि कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाएको छ। उनीहरूले आगामी दिनमा समेत यस्ता स्वास्थ्य शिविरहरूलाई निरन्तरता दिने योजना रहेको जानकारी दिएका छन्।
यस प्रकारका स्वास्थ्य शिविरहरूले ग्रामीण क्षेत्रमा स्वास्थ्य चेतना अभिवृद्धि गर्नुका साथै महिलाहरूलाई समयमै उपचारमा पहुँच पुर्याउने महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। बलवा नगरपालिकाको यो पहलले स्थानीय स्तरमा स्वास्थ्य सेवा सुदृढीकरणतर्फ सकारात्मक सन्देश दिएको छ।







