महोतरी । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का वरिष्ठ उपाध्यक्ष राजेन्द्र महतोले महोत्तरी जिल्ला अदालतको बिहीबारको फैसला दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्। बिहीबार महोत्तरी जिल्ला अदालतले असई थमन विकको हत्यामा संलग्न रहेका सात जनालाई जन्मकैदको फैसला गरेको थियो। जन्मकैद पाउनेमा लोसपाका प्रदेश सांसद अभिराम शर्मा पनि छन्। जिल्ला अदालत महोत्तरीले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई भने सफाइ दिएको थियो। महतोले शुक्रबार विज्ञप्ति निकालेर त्यसलाई दुर्भाग्यपूर्ण भन्दै आन्दोलन गर्नुपर्ने बताएका छन्।
‘संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा भएको मधेस आन्दोलनको समयमा भएको विभिन्न घटना, दुर्घटना र सोही बहानामा पुर्वाग्रही ढंगबाट आन्दोलनका अगुवा लक्षित दायर भएको मुद्दामा अधारित रहेर महोत्तरी जिल्ला अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण छ,’ महतोले विज्ञप्तिमा भनेका छन्, ‘तत्कालीन आन्दोलन उपर राज्यले गरेको बर्बर दमन, अत्याचार दुस्मन देशको नागरिकमाथि गरेको व्यवहार सरह थियो।’
उनले महोत्तरी जिल्ला अदालतले सुनाएको फैसलापछि फेरि एकपटक त्यतिबेलाका आन्दोलन घोषणा गरेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरूहट संघर्ष समितिहरू एकताबद्ध हुनुपर्ने समय आएको बताएका छन्।
‘लोकतान्त्रिक समाजवादी पार्टीले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता गरी संघर्षको कार्यक्रम घोषणा गरी नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्दछ,’ महतोले विज्ञप्तिमा भनेका छन्, ‘सोही अनुरूप मैले हाम्रा पार्टी अध्यक्ष मा। महन्थ ठाकुरलाई आफ्नो नेता कार्यकर्ताविरूद्ध भैरहेको षड्यन्त्रको पर्दाफास गरी निर्भयताका साथ आन्दोलनमा उत्रिन तथा खुट्टा नकमाउन र हिम्मत देखाउन आग्रह गरिसकेको छु र यही विज्ञप्तिमार्फत् थरूहट र मधेसी मोर्चाका सबै नेताहरूलाई डटेर सामना गर्न पनि अपिल गर्दछु।’






