हिन्द महासागरमा साउदीबाट भारत आउँदै गरेको तेल जहाज एमभी केम प्लुटोमा शनिबार ड्रोनले आक्रमण गरेको थियो । भारतीय नौसेनाका अनुसार यो जहाजमा २० जना भारतीय चालक दलका सदस्य रहेका छन् ।
जहाज साउदी अरबबाट मंगलुरु जाँदै थियो। यसमा कच्चा तेल रहेको थियो। समाचार एजेन्सी एएफपीका अनुसार आक्रमणमा कसैलाई पनि क्षति नभए पनि जहाजमा आगो लागेको थियो। यो आगो नियन्त्रणमा आएको छ । लाइबेरियाको झण्डा भएको यो जहाज इजरायलको रहेको बताइएको छ ।
आगलागीका कारण जहाजको काम गर्ने क्षमतामा असर परेको छ । बेलायती सेनाको सामुद्रिक व्यापार अपरेसनले उक्त जहाज भारतको भेरावलबाट करिब २०० समुद्री माइल टाढा रहेको जानकारी दिएको छ । यद्यपि, यो भारतको विशेष आर्थिक क्षेत्रबाट टाढा थियो। हाल आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । जहाजलाई अन्तिम पटक साउदी अरेबियाले सम्पर्क गरेको थियो।
यसभन्दा करिब एक महिना अघि, हुथी विद्रोहीहरूले रेड सीमा कार्गो जहाज ग्यालेक्सी लिडर अपहरण गरेका थिए। यो जहाज टर्कीबाट भारत आउँदै थियो । हुथी विद्रोहीहरूले यसलाई इजरायली जहाज सम्झेर अपहरण गरेका थिए। घटना हुनुअघि हुथी समूहले इजरायली जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएको थियो। हुथी विद्रोहीका प्रवक्ताले इजरायलको तर्फबाट यात्रा गर्ने सबै जहाजलाई निशाना बनाइने बताए।






