मधेस आन्दोलन माथि सङ्कट उत्पन्न भएको लोसपा नेता महतोको भनाई



सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेस आन्दोलनमाथि सङ्कट उत्पन्न भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने– आन्दोलनमा घटना हुन्छ, कहिले राज्यलाई क्षति हुन्छ भने कहिले व्यक्तिलाई क्षति हुन्छ । यो आन्दोलनको चरित्र हो, तर त्यसलाई आधार मानेर कसैलाई कारबाही गर्न हुँदैन ।

महोत्तरीमा एक जना सुरक्षाकर्मीको मृत्यु भएको विषयलाई लिएर मधेस आन्दोलनलाई अपराधीकरण गरिएको भन्दै उनले यसले मधेसी जनताको अपमान भएको र त्यसलाई स्वीकार गर्न नसकिने बताए । माओवादीको जनयुद्धमा सुरक्षा निकायका थुप्रै व्यक्ति मरेका थिए, त्यो राजनीतिक घटना भयो र मधेस आन्दोलन कसरी आपराधिक घटना भयो उनले प्रश्न गरे ।



मधेस आन्दोलनमा लागेकालाई जन्मकैद दिनु गणतन्त्र नेपालका लागि पहिलो घटना भएको बताउँदै उनले भने– ुयस्तो त राणाहरूको पालामा पनि भएको थिएन ।ुआन्दोलनकारीमाथि भएको यस्तो घटनाको जिम्मेवारी तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले लिनुपर्ने बताए ।

नेता महतोले यसमा मदेसवादी दलको सहमति छैन भने तुरुन्तै जवाफ दिनुपर्ने र सरकार छाडेर निस्किनुपर्ने भए पनि त्यसो हुन नसकेको जिकिर गरे । लोसपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सरकारमा छन् । सरकारको मागमा आन्दोलनकारीको आजीवन कारावास भएको छ, यसको मतलब ती दलका नेताहरू पनि यसमा सहमति जनाएको पुष्टि भएको नेता महतोले दाबी गरे ।

मधेस आन्दोलनको रक्षाका लागि सत्ता छाडेर सङ्घर्षमा आउनुपर्ने बताउँदै उनले मधेस आन्दोलन बचाउनका लागि सरकार छाड्नुको विकल्प नरहेको उनले बताए । यदि आएन भने अधिकार र पहिचानका लागि अब आन्दोलन हुँदैन, जनताले विश्वास गर्दैन, आन्दोलनकारीलाई रक्षा गर्न सकिएन भने आन्दोलनमाथि विश्वास गर्न सक्ने अवस्था नरहेको उनले बताए । मधेस आन्दोलनमाथि सङ्कट आएको र यसमाथि सबैले ध्यान दिनुपर्ने उनले बताए ।

प्रकाशित मिति: २०८० पुष १०, मंगलवार १३:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको